close

सुरु हुँदै कांग्रेसको पालिका अधिवेशन 

सुरु हुँदै कांग्रेसको पालिका अधिवेशन 

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन सुरु हुँदै छ  ।  कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । 

 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको छ । 

 

संघीय राजधानी काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन आउँदो १६ असोजका लागि तय गरिएको छ । काठमाडौैंको वडा अधिवेशन ५ असोजदेखि सुरु भएको थियो ।

 

एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा शनिबार पालिका अधिवेशन सुरु गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले बताए । 

 

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश २ का ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रूपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया सुरु हुन नसकेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

 

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुंग्याएर दसैँ अघिसम्म सबै जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।

 

कांग्रेसको वडा अधिवेशन गत १८ भदौदेखि सुरु भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा तय गरेको थियो ।

 

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन ९ देखि १३ मंसिरसम्म तय गरिएको छ ।

 

यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहमा प्रतिनिधित्व नभएको भए क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्तिमध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

 

शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीसहितको छलफलबाट प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भए क्षेत्रीय प्रतिनिधिमध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लिखित तहमा प्रतिनिधित्व नभएको भए क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।