close

भक्तपुरमा पुलुकिसी जात्राको रौनक

भक्तपुरमा पुलुकिसी जात्राको रौनक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरमा पुलुकिसी अर्थात् इन्द्रका वाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको छ । नगर परिक्रमा शुक्रबार साँझ भक्तपुरको लाकुलाछेंबाट सुरु भएको हो । 

 

जात्रामा बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराई जात्रा चलाउने चलन छ ।

 

संस्कृतिविद् ओम धौभडेलका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको सांस्कृतिक मान्यताका आधारमा यो जात्रा चलाइँदै आएको हो ।

 

संस्कृतिविद् धौभडेलले स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाइने बताए ।

 

उनका अनुसार पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई नसोधी टिपेको आरोपमा बन्धक बनाइएपछि उनलाई खोजेर स्वर्गमा लैजान आफ्नो वाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किम्वदन्ती रहेको उनले सुनाए ।

 

पुलुकिसी जात्रासँगै आठ दिने भक्तपुरको इन्द्रजात्रा सम्पन्न हुन्छ । जात्रामा एक जना मानिसले पुलुकिसी आएको संकेत गर्दै घन्टी बनाई पुलुकिसी नगर परिक्रमा गराइन्छ । यो क्रममा ठाउँठाउँ, चोकचोकमा पुलुकिसीलाई ओहोरदोहोर गराउने चलन छ ।

 

साथै, पुलुकिसीसँग हिँडेका मानिसले अगाडि छ्वाली बालेर अगाडि बढ्ने चलन छ । जात्रा हेर्न नगरभरि यो दिन ठूलो भीड लाग्ने गर्छ ।

 

पुलुकिसीलाई नगरभरि परिक्रमा गराइनुका साथै भक्तपुर दरबार स्क्वायर, टौमढी, दत्तात्रयलगायत चोकमा जात्रा हेर्नेहरूको भीड लाग्ने गर्दछ ।

 

जात्रा लाकुलाछेंबाट सुरु भई त्यही पुगेर टुंगिन्छ । यो बीचमा लाकुलाछेंबाट गाईजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइन्छ ।

 

दरबार स्क्वायरबाट पुन बालाखु, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दत्तात्रयमा ल्याइन्छ । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइन्छ र लाकुलाछेमै पुगेर जात्रा सम्पन्न हुन्छ । 

 

पूरै नगर परिक्रमाका लागि चार–पाँच घन्टा समय लाग्छ । बेलुकी ५ बजेबाट सुरु हुने जात्रा राती ९ बजे सकिन्छ । पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा यसको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोए बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास छ । 

 

तर, हिजोआज युवाहरू त्यही सुँड समातेरै पुलुकिसीसँगै हिँड्छन् । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।