close

देशभर २ हजार ७६० अनलाइन, अखबारको संख्या ८ हजार नजिक

देशभर २ हजार ७६० अनलाइन, अखबारको संख्या ८ हजार नजिक

Trulli
ADVERTISEMENT

काठमाडौं– मुलुकभर दर्ता भएका पत्रपत्रिकाको संख्या ७ हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको संख्या ७४४ रहेको उल्लेख छ ।

 

प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक २ हजार ९५६, पाक्षिक ४७६, मासिक २ हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिक प्रकाशित हुने अखबारको संख्या ९३ रहेको उल्लेख छ । 

 

काउन्सिलका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक २ हजार ८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ ।

 

प्रादेशिक रूपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ । उक्त प्रदेशमा २ हजार ६५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । 

 

सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौं हो । आर्थिक वर्ष २०७७/७८ सम्म काठमाडाँं जिल्लामा २ हजार अखबार दर्ता छन् । काठमाडौंपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो ।

 

दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशितमध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुम्च्याएको तथ्यांकले देखाएको छ ।

 

उक्त आर्थिक वर्षसम्म देशभर २ हजार ७६० अनलाइन काउन्सिलमा सूचीकरण भएको विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् ।

 

काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो । काउन्सिलले स्वस्थ पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दै आएको छ ।