close

सीमानाका जमुनाहमा दसैँ मनाउन घर फर्किनेको ओइरो

सीमानाका जमुनाहमा दसैँ मनाउन घर फर्किनेको ओइरो

Trulli
ADVERTISEMENT

बाँके– दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को सुरु भएको छ ।  रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । 


नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब १ हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए ।

 

उनका अनुसार अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको संख्या धेरै छ । दसैँ तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

 

स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको संख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमी रूपमा भारत जाने महत्त्वपूर्ण चाडपर्व र खेतीपातीको समय भने स्वदेश फर्किने गर्छन् । 


आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधीमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या अधिक छ ।


दसैँका बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीसँगको समन्वयका साथै सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पु¥याउन र उनीहरूको गुनासो सम्बोधनका लागि जमुनाह नाकामा नागरिक सहायता कक्ष सञ्चालनको तयारीसमेत भइरहेको छ ।