close

९५ प्रतिशत सकियो कमलपोखरी पुनर्निर्माण

९५ प्रतिशत सकियो कमलपोखरी पुनर्निर्माण

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले कमलपोखरी पुनर्निर्माणमा पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको बताएको छ । टनाटन पानी भरिएको कमलपोखरीको निरीक्षण सिलसिलामा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । 


काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि कमलपोखरी पुगेका शाक्यले छिट्टै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको बताए ।


‘सबैले रानीपोखरी मात्रै देखेका छन्, हामी कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,’ उनले भने, ‘एकातिर पानी, अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएका छौँ ।’ पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरिएको बताए ।


‘पहिला बेवारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रूपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौँ,’ शाक्यले भने । 
काठमाडौं महानगरभित्र रहेका सबै पोखरीको संरक्षण गर्ने महानगरको योजना रहेको उनले सुनाए ।


पहिलो चरणको काम सम्पन्न गर्नेबित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात् पहिला कमलपोखरी प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रलाई विस्तार गर्दै आकर्षक पार्क निर्माण गरिनेछ । 


कमलपोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगतामैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारिएको र त्यहींअनुरूप काम अघि बढेको शाक्यले जानकारी दिए । 


सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार वटा कुनामा आकर्षक, संस्कृति झल्किने चार वटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच वटा मण्डप रहने बताए । 


करिब ६ करोड ३६ लाख रुपैयाँ लगानीमा निर्माण भइरहेको उक्त पोखरीले परम्परागत नेपाली शैलीलाई आत्मसात् गरेको उनले दाबी गरे ।  ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइएको छ,’ बस्नेतले भने, ‘पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँच वटा मकरधार रहनेछन् ।’  दोस्रो चरणको काम बगैँचा मात्रै रहने उनले बताए । 


काठमाडौं महानगर सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अकासे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरिएको जानकारी दिए । गेट, शौचालयको केही र रंगरोगनलगायत मात्रै काम बाँकी रहेको बताए ।  कँडेल निर्माण सेवा कम्पनीले भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदार ल्याएर पुनर्निर्माणको काम गरिएको हो ।