close

पाल्पाको तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

पाल्पाको तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका  हुन् । सो उद्यानबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

 

गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवनलगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । स्थानीय बासिन्दा भुवन रायमाझीले अग्लो डाँडाबाट अन्य स्थान अवलोकन तथा घुमफिरका गर्न रुचाउनेका कारण अहिले यस क्षेत्र चहलपहल बढेको बताए ।

 

जिल्लाको पश्चिम क्षेत्रमा हेर्नलायकको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा उद्यानलाई विकास गरिएको छहरा –४  वडाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । उद्यान गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका निम्ति उपयुक्त रहेको बताइएको छ  । पछिल्लो समय कोरोना सङ्क्रमणले गर्दा आन्तरिक पर्यटकमा कमी देखिएको छ । आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको पोखरेलले बताए । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले तिलकथान उद्यानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थप बजेटको व्यवस्था भएको जानकारी दिए । दुई वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ । चालु आर्थिक वर्ष पार्कलाई तारबारले घेर्ने योजना छ । उनका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढाएको छ ।

 

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार काम भएको बताए । गाउँपालिकाभित्र तरकारी, सुन्तला, कफी उत्पादनमा पाल्पामा नै अगाडि रहेको र तरकारी तथा सुन्तला १ करोडभन्दा बढीको निकासी हुँदै आएको उाले जानकारी दिए । 

 

लुम्बिनी–बल्ढेङगढी सडकलाई कालोपत्र गर्ने काम गाउँपालिकाले सुरु गरेको छ । यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताए ।