close

भौतिक रूपमै परीक्षा सञ्चालन गर्न भक्तपुरको निर्देशन

भौतिक रूपमै परीक्षा सञ्चालन गर्न भक्तपुरको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको भक्तपुर नगरपालिकाले १० असोजदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । 


नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा ९ असोज शनिबार बसेको नगर शिक्षा समितिको बैठकले शैक्षिक संस्था सञ्चालनसम्बन्धी मापदण्डसमेत तयार गरी सबै शैक्षिक संस्थामा परिपत्र गरेको छ । बैठकले मापदण्डबमोजिम भए/ नभएको अनुगमन गर्ने निर्णय गरेको छ ।    


कोभिड–१९ संक्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई लगाउने व्यवस्था गर्नुपर्ने निर्देशन सबै विद्यालयमा पठाइएको छ ।


    
विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ र निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक–फरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेट र कक्षाकोठा बाहिर स्यानिटाइजर वा साबुनपानीको प्रबन्ध गरी बेलाबेला हात धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालय प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध मिलाउने र सबैले अनिवार्य मास्क लगाउनुपर्ने नगर शिक्षा शाखाले जनाएको छ ।

 

नगर शिक्षा शाखाले मापदण्डमा नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट समय–समय अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने, स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी नराख्ने, विद्यालयमा एक जना शिक्षक वा कर्मचारीलाई कोभिड फोकल पर्सन तोक्ने, विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने र अचानक कुनै नयाँ परिस्थिति आइपरे नगर शिक्षा शाखामा खबर गरी प्राप्त निर्देशनअनुसार गर्ने व्यवस्था गरिएको छ ।


    
कोभिड संक्रमण बढेसँगै भक्तपुरका सबै विद्यालय र शैक्षिक संस्थाको कक्षा अनलाइनमार्फत सञ्चालन हुँदै आएकामा कोभिड संक्रमण दर कम भएसँगै अविभावक र शिक्षकसमेतले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको माग गर्दै आएका थिए ।

 

विद्यालय भौतिक उपस्थितिमा सञ्चालन गर्ने सम्बन्धमा यसअघि नै नगरपालिकाले शिक्षक संघ, अभिभावक संघ, विद्यार्थी संघका पदाधिकारी र सरोकारवालासँग विद्यालय सञ्चालनसम्बन्धी राय, सल्लाह र सुझाव लिइसकेको थियो ।