close

ओल खेतीबाट नगद जोहो गर्दै महोत्तरीका किसान

ओल खेतीबाट नगद जोहो गर्दै महोत्तरीका किसान

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा ओल खेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि किसानका लागि ओल नै नगद जोहोको सहारा बनेको हो । 

 

जिल्लाका सुदूरउत्तरवर्ती बर्दिबास, भंगाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा व्यावसायिक रूपमै ओलखेती हुँदै आएको छ । ओल थोरै सिचाइँमा पनि हुने र अन्य तरकारी बालीभन्दा चोटिलो वर्षा खेप्न सक्ने भएको हुँदा किसानको रोजाइमा पर्ने गरेको छ ।  थोरै लगानी र कम मिहिनेतमै अपेक्षित उत्पादन लिन सकिएपछि यसको व्यावसायिक खेतीतर्फ किसान आकर्षण बढेको हो । अहिले जिल्लाका बजारमा नयाँ उत्पादित ओलको बजार जमेको छ ।


सिँचाइको स्थायी उपाय नभएको र माटो पनि दोरस (बालु माटो सराबरी) भएको हुँदा जिल्लाको उत्तरी क्षेत्रका किसान अन्नबालीभन्दा फलपूmल र तरकारी खेतीमा रम्ने गरेका छन् ।


तरकारी बालीमध्ये पनि अरूभन्दा घामपानी खप्न सक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउँछन् । ‘यसपालि कोभी, भान्टा, खुर्सानी र रामतोरईका बोट तथा अरु लहरे तरकारीका बेला (लहरा) लगातारको वर्षाले पिटेर गलायो । ओलले भने जेनतेन वर्षा खेपेकाले धेरथोर नगदको मुख हेर्न पाइएको छ’, उनले भने, ‘पाखो बारीमा ड्याङमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओलचाहिँ अरु बालीजस्तो पानीले गलाउन सकेन ।’ दसैँ, तिहार र छठ पर्वको मुखमा नगद खर्चको मेसो ओलमै अडेको महतोको भनाइ छ ।


जिल्लाको उत्तरी क्षेत्रका यी चार नगर क्षेत्र र सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका बस्तीमा ओलखेती लगाइन्छ । प्रतिकठ्ठा १०/१२ क्विन्टल उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौँ नबिग्रने हुँदा फुर्सद र भाउ बुझेर बजार लान पाइने किसान बताउँछन् । जिल्लामा अहिले करिब २०० बिघा हाराहारी क्षेत्रफलमा ओलखेती रहेको स्थानीय कृषि अभिलेखबाट देखिन्छ ।


खासमा गौशाला र भङ्गाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीबाटै आपूmले बर्सेनि ५ लाख रुपैयाँ आम्दानी लिने गरेको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीका किसान अरुण कुशवाहले जानकारी दिए । ‘यो हाम्रो नगदको जोहो मात्र होइन, घरगुजाराको सबथोक हो’, उनी भन्छन्, ‘चामल, पीठो, मरमसला सबै कुरा ओल बेचेर लिन्छौँ ।’ माटोमुनि फल्ने स्वास्थ्यका दृष्टिकोणले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो ।


ओलको तरकारीका साथै अचारको परिकार प्रसिद्ध छ । शीतभण्डारको सुविधा भए ओल वर्षभरि नै टिकाउन सकिने किसान बताउँछन् । प्रतिकठ्ठा ५÷७ हजार लगानीभित्र गर्न सकिने ओलखेतीबाट आम्दानी प्रतिकठ्ठा २५÷३० हजार रुपैयाँसम्म लिन सकिने किसानको भनाइ छ ।


उन्नत जातको एउटै बोटमा ८ देखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम ४० देखि ८० प्रतिकिलो सरदर नै बिक्री हुने गरेको भंगाहा वडा नम्बर ४ का किसान रामजी यादव बताउँछन् ।


नगरभरि नै ओलखेती हुने गरेकाले बर्दिबास, भंगाहा, गौशाला र औरहीका किसानले आफ्नो उत्पादन एकत्रित गरेर जलेश्वर, जनकपुर, मलंगवासहितका नजिकका बजार र पूर्व मेचीबाट पश्चिम महाकालीसम्म उत्पादन पुग्ने गरेको भंगाहा वडा नम्बर ४ का अर्का किसान सत्यनारायण यादवको भनाइ छ । आफ्नो क्षेत्रको ओल बिउका लागि कैलाली, कञ्चनपुरसम्म पुर्‍याइएको किसान यादवले बताए ।


प्रत्येक वर्ष चैत–वैशाखमा रोपिने ओल भदौै, असोजभरि खनेर निकालिन्छ । विषादी छर्किनु नपर्ने, हल्का सिँचाइमै गर्न सकिने र चार महिनाभित्रै उत्पादन लिन सकिने भएपछि ओल किसानबीच लोकप्रिय हुँदै गएको हो ।


अचेल विभिन्न कृषि कार्यालय, बिउबिजन केन्द्र र बिउ उत्पादक आफ्ना स्थायी ग्राहकै बनेको यहाँका किसानको भनाइ छ । किसानले प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आ–आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् ।