close

उपत्यकाका विद्यालय : कतै खुला, कतै बन्द 

उपत्यकाका विद्यालय : कतै खुला, कतै बन्द 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले आइतबारदेखि विद्यालय खोल्न अनुमति दिएको छ । मापदण्ड अपनाएर विद्यालय खुलाउन पाइएपछि कतिपयले भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् भने कतिपयले अनलाइन माध्यमबाटै पढाइरहेका छन् ।  विद्यार्थी संख्या धेरै भएका विद्यालयले अनुमति पाए पनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरेका छैनन् ।  बानेश्वरको भीमसेनगोला माध्यमिक विद्यालय, सिद्धेश्वरी माध्यमिक विद्यालय, गुह्येश्वरीलगायतका विद्यालयले भौतिक उपस्थितिमै विद्यालय सुरु गरेका हुन् । 

 

भीमसेनगोला माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार राईले महानगरले विद्यालय खुलाउने निर्णय गरेपछि भौतिक उपस्थितिमा सुरु गरिएको बताए । ‘हामीले महानगरले निर्णय गरेकाले विद्यालय खुलाएका हौँ,’ उनले भने, ‘विद्यालय आउन पाएपछि विद्यार्थीको संख्या बढेको छ । अनलाइन पढाउँदा विद्यार्थी नै हुँदैन थिए ।’ 

 

यस्तै, सिद्धेश्वरी माविका प्रधानाध्यापक प्रभाकर न्यौपानेले पनि सबै कक्षाका विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउन थालिएको बताए । ‘महानगरले खुलाउन दिएपछि खुलायौँ,’ उनले भने, ‘हाम्रो विद्यालयमा थोरै विद्यार्थी थिए । स्वास्थ्य मापदण्ड अपनाउन पनि सहज छ ।’


धेरै विद्यार्थी संख्या हुने विद्यालयले भने अनलाइन कक्षा नै सञ्चालन गरिरहेका छन् । मध्यबानेश्वरको रत्नराज्य विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउन नसकिने भएकाले नलगाएको प्रधानाध्यपक रामाशीष यादवले बताए । ‘हाम्रो विद्यालयमा विद्यार्थीको धेरै चाप छ,’ उनले भने, ‘अनलाइनबाटै पढाइरहेका र्छौँ । स्वास्थ्यका हिसाबले सहज भइसकेको छैन । हामी विद्यार्थीको स्वास्थ्यमा गम्भीर छौँ ।’ दसैँ–तिहारपछि मात्रै खुलाउन सकिने उनले बताए । 

 

खुलेका विद्यालयमै छैन, कसिलो स्वास्थ्य सुरक्षा


  
विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएका विद्यालयमा राम्रो स्वास्थ्य सुरक्षा भने अपनाउन सकिएको छैन । पुरानै अवस्थामा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य जोखिम हुने स्वास्थ्यविज्ञहरू बताउँछन् । तर, खुलेका विद्यालय हेर्दा सञ्चालन तरिका पुरानै छ ।

 

भीमसेनगोला माविमा २ सय विद्यार्थी छन् । विद्यालयमा पठनपाठन सुरु भएपछि १ सय ५० उपस्थित छन् । तर, सुरक्षा प्रबन्ध भने राम्रो गरिएको देखिएन । विद्यार्थी सबैले मास्क लगाएका थिएनन् । दिउँसो टिफिन समय सबै विद्यार्थी एकै ठाउँ भेला भएर खेलिरहेका थिए । उनीहरूले दूरी कायम गरेर बस्ने अवस्था देखिँदैन थियो ।

 

प्रअ गणेश राई भने विद्यार्थीलाई स्वास्थ्य सुरक्षाबारे जानकारी दैनिक दिने गरेको बताउँछन् । गरिब विद्यार्थीका लागि अनलाइन पढ्न स्रोत–साधन सम्भव नभएकाले विद्यालयमै उपस्थित गराएर पढाउन थालिएको उनको भनाइ छ । 

 

सिद्धेश्वरी माविले भने एउटा बेन्चमा दुई विद्यार्थी राखेर पढाएको थियो । विद्यार्थीले स्वास्थ्य सुरक्षा अपनाए÷नअपनाएको हेर्न एक जना शिक्षकलाई जिम्मेवारी दिएर राखिएको थियो । विद्यालयका प्रअ न्यौपानेका अनुसार दिउँसो खाजा खाने समयका लागि पनि कक्षाअनुसार फरक–फरक समय ब्रेक दिने गरिएको छ । 

 

थोरै विद्यार्थी भएकाले असहज नभएको उनको भनाइ छ । विद्यार्थीलाई संक्रमण फैलिए विद्यालय बन्द गर्ने योजना रहेको उनले बताए । सामान्य लक्षण देखिए विद्यार्थीलाई स्कुल नपठाउन अभिभावकलाई अनुरोध गरिएको उनले जानकारी दिए । ‘हामीले एकदमै सजकता अपनाएका छौँ,’ उनले भने, ‘अभिभावकलाई पनि लक्षण देखिएका केटाकेटी नपठाउन अनुरोध गरेका छौँ ।’