close

जुम्ला बहुमुखी क्याम्पसमा लाग्यो ताला

जुम्ला बहुमुखी क्याम्पसमा लाग्यो ताला

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्ला बहुमुखी क्याम्पस जुम्लामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसमा क्रियाशील विभिन्न चार विद्यार्थी संगठनले अनिश्चितकाीलन तालाबन्दी गरेका हुन् । ११ असोजदेखि सञ्चालन हुने एमएड तह दोस्रो वर्षको परीक्षा केन्द्र जुम्लामै हुनुपर्ने माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीले बताएका छन् ।

 

जुम्ला बहुमुखी क्याम्पस प्रशासनको कमजोरीका कारण ११ असोजदेखि हुने एमएड दोस्रो वर्षको परीक्षा केन्द्र शिक्षा क्याम्पस सुर्खेतमा तोकिएको विरोध गर्दै जुम्ला क्याम्पसको प्रशासनदेखि कक्षाकोठा र मुख्य गेटमा समेत तालबान्दी गरिएको अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सदस्य तपेन्द्र खत्रीले बताए । उनले भने, ‘राज्य प्रणाली विकेन्द्रीकृत भइसकेको अवस्थामा अझै केन्द्रीकृत प्रणाली लागू गर्नु संघीयताविपरीत हो । जुम्लामा पढेर, परीक्षा फाराम भर्दा जुम्ला परीक्षा केन्द्र लेखिए पनि अन्तिममा सुर्खेत गएर परीक्षा दिनुपर्ने गरी परीक्षा केन्द्र तोकिएको उनको भनाइ छ । तत्काल परीक्षा केन्द्र जुम्लामै नभए तालाबन्दी जारी रहन्छ ।’


बर्खाको समय भएकाले सडक अवरुद्ध हुने, खर्चका हिसाबले पनि विद्यार्थीलाई मर्का पर्ने भएकाले जुम्लामै परीक्षा केन्द्र हुनुपर्ने एमएड तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी लक्ष्मी परियारले बताइन् ।


‘जुम्लामा परीक्षा केन्द्र हुने सर्तमा परीक्षा फाराम भरेका थियौँ । तर, परीक्षाको मुखमै सुर्खेतमा केन्द्र तोकिएपछि विद्यार्थी आन्दोलनमा उत्रिनुपरेको हो । क्याम्पसकै कमजोरीका सुर्खेत परीक्षा केन्द्र कायम भएको हो’, उनले भनिन् । 


लामो समयदेखि जुम्ला क्याम्पसमा सबै परीक्षा सञ्चालन भइरहेका थिए । तर, हाल एमएड तह दोस्रो वर्षको परीक्षालाई संघीयताको विकेन्द्रीकृत अधिकार उल्लंघन गरी सुर्खेतमा कायम गर्नु दुर्गमका विद्यार्थीका लागि अन्याय भएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य खत्रीको भनाइ छ । 


शिक्षा क्याम्पस सुर्खेतमा ११ असोजदेखि सञ्चालन हुने परीक्षामा जुम्लाका १२ विद्यार्थीले सहभागी नहुने निर्णय गर्दै परीक्षा नै वहिष्कार गर्ने निर्णय भएको खत्रीले बताए । 


परीक्षा केन्द्र सुर्खेतबाहेक अन्य ठाउँ राख्न नसकिने त्रिभुवन विश्वविद्यालयले परिपत्र गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । जुम्ला बहुमुखी क्याम्पस प्रमुख ओम आचार्यका अनुसार परीक्षा केन्द्र परिवर्तनका विषयमा परीक्षार्थीबाट गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी गराए पनि अहिलेसम्म कुनै निर्णय आइसकेको छैन । 

 

‘भौगोलिक रूपमा पनि जुम्लाबाट सुर्खेत गएर परीक्षा दिन कठिनाइ भएको जानकारी केन्द्रमा गराएका छौँ’, उनले भने, ‘थोरै विद्यार्थी भएकाले परीक्षा केन्द्र मर्ज गरी जुम्लाको परीक्षा केन्द्र सुर्खेत तोकिएको हो भन्ने मात्र बुझिएको छ ।’