close

बाजुराको कोल्टी–पिलुचौर सडक खण्ड अवरुद्ध

सात किलोमिटरको बाटोमा दुई गाडी बदल्नुपर्ने बाध्यता 

बाजुराको कोल्टी–पिलुचौर सडक खण्ड अवरुद्ध

सात किलोमिटरको बाटोमा दुई गाडी बदल्नुपर्ने बाध्यता 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको कोल्टी–पिलुचौर सडक खण्डको मटेला नजिक सडक अवरुद्ध भएको करिब दुई साता पुगेको छ । सडक अवरुद्ध भएको लामो समयसम्म पनि निर्माणमा कसैले चासो नदिँदा सर्वसाधारणलाई आउजाउमा सास्ती भएको छ । 

 

मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिब दुई साता पुग्न लाग्दा पनि बाटो नबनेपछि कोल्टी बजार क्षेत्रमा आउजाउ गर्ने यात्रुले सास्ती भोग्नुपरेको हो ।


अहिले दसैँ, तिहार नजिक आइरहेको छ । दैनिक सयौँको संख्यामा यही बाटो हुँदै यात्रु ओहोरदोहोर गरिरहेका छन् । तर, बाटो मर्मतको सुरसार नभएपछि यात्रुले ७ किलोमिटरको दूरीमा दुई वटा गाडी फेर्नु परेको दुखेसो गरेका छन् ।

 

गाडी फेर्नुपर्दा १ सय रुपैयाँ भाडा लाग्ने पिलुचौरसम्मको २ सयदेखि २ सय ५० रुपैयाँसम्म भाडा तिर्नुपरेको छ भने समयमै गाडी नपाइने समस्याले आउजाउमा सास्ती भइरहेको छ । बिरामी लिएर आउँदा पनि समयमा गाडी पाइँदैन । ‘लामो समयसम्म बाटो निर्माणको काम भएको छैन’, स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का स्थानीय शंकरप्रसाद उपाध्यायले भने ।

 

आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडक दुई सातादेखि अवरुद्ध हुँदा पनि नगरपािलकाले अहिलेसम्म ठोस पहल नगरेको उनले बताए । जिल्लाकै हवाई यातायातले समेत जोडिएको यस क्षेत्रबाट बाजुरा मात्र नभई हुम्ला र मुगुलगायत स्थानबाट समेत स्थानीय आउजाउ गर्छन् । टाढा–टाढाबाट आउने यात्रुलाई बाटो अवरुद्ध छ भन्ने थाहा नहुने हुँदा यहाँ आएपछि समस्या झेल्नुपर्ने अवस्था छ ।


बूढीनन्दा नगरपालिकाले बाटो मर्मतका लागि आवश्यक तयारी भइरहेको बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बाटो चाँडै मर्मत हुने जानकारी दिए । उनले भने, ‘बर्खाका कारण अवरुद्ध बनेको सडक मर्मतका लागि पहल भइरहेकाले चाँडै निर्माण हुन्छ ।’