close

कोरोनामा संघले धन्यवाद मात्रै दियो

कोरोनामा संघले धन्यवाद मात्रै दियो

Trulli
ADVERTISEMENT

कोरोनाका बेला हुनेले दिने, नहुनेले लैजाने कार्यक्रम चलाएर चर्चामा आएका मेयर थापा २ सय किलोमिटर सडक कालोपत्रे, मुलुककै ठूलो पोखरी निर्माण र शिक्षा एवं स्वास्थ्य क्षेत्र सुधारेर विकासप्रेमी जनप्रतिनिधि बने 



भरतकुमार थापा
नगरप्रमुख, बागमती नगरपालिका, सर्लाही

 

कोरोना संक्रमणको सुरुआतमा सबैतिर मजदुर र विपन्न वर्ग समस्यामा परे । सबै स्थानीय तहले राहत प्याकेजस्वरूप दाल, चामल, तेल, र नुन बाँडिरहेका थिए । त्यसबेला सर्लाहीको बागमती नगरपालिकाले भने फरक अभ्यास गरेको थियो । नगरपालिकामा हुनेले दिने र नहुनेले लिने व्यवस्था गरिएको थियो । पछि यो उदाहरण सबैतिर कार्यान्वयनमा लगियो ।

 

बागमती नगरपालिकाले राहत वितरणसँगै कोरोना नियन्त्रणमा पनि सफल भूमिका वहन गर्‍यो  । सुरुमा जनचेतनाका लागि पर्चा, पम्पलेट बाँड्ने काम भयो । नगरले त्यसपछि सीमाबाट आउने मानिसलाई राख्न क्वारेन्टाइन बनायो । आवश्यकताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाएर राखिएको मेयर भरतकुमार थापा बताउँछन् । ‘हामीले पहिलो लहरमा सीमाबाट आएका मानिसलाई राख्न नगरका विद्यालयमा क्वारेन्टाइन बनाएका थियौँ,’ उनले भने, ‘संक्रमित भएको थाहा भए उनीहरूका लागि आइसोलेसन व्यवस्था गरेका थियौँ ।’


नगरले पहिलो लहर सकिएर दोस्रो लहर आउँदा पनि जनचेतनाको काम रोकेन । नगरबासीलाई सुसूचित गराउँदै संक्रमितको उपचारका लागि सेवा विस्तार गरेको थियो । दोस्रो लहरमा नगरले आफ्नै कोभिड अस्पताल निर्माण गरिसकेको थियो । बिरामी बोक्न निःशुल्क एम्बुलेन्स सेवा सुरु गरियो । सबै कुरा तयारी अवस्थामा रहेकाले दोस्रोमा सहज भएको मेयर थापाको अनुभव छ । ‘हामीलाई पहिलो लहरभन्दा दोस्रो लहरमा धेरै सहज भयो,’ उनले भने, ‘पहिलो पटक निर्माण गरिएका आइसोलेसन यथावत थिए । हामी सचेत भइसकेका थियौँ । परीक्षणलाई निरन्तरता दियौँ । एम्बुलेन्स र अस्पताल तयारी अवस्थामा भएकाले संक्रमितलाई राम्ररी सेवा दियौँ ।’

 

कोरोना नियन्त्रणमा भएको खर्च नगरपालिकाले आफ्नो आन्तरिक बजेटबाट बेहोर्‍यो  । कोरोनामा संघ सरकारले धन्दवाद मात्रै दिएको उनले बताए । ‘कोरोना नियन्त्रणको खर्च हामीले आफ्नै स्रोतबाट गर्‍योँ,’ उनले भने, ‘संघबाट केही सहयोग आएन । हामीले काम गरेपछि धन्यवाद मात्रै दियो ।’ उनका अनुसार नगरपालिकाले कोभिडको खर्च धान्न नसकेर स्थानीय व्यापारीसँग चन्दा मागेर काम चलायो । नगरपालिकाले संक्रमितको हेरचाह र उपचार गर्ने जनशक्ति पनि आफंै व्यवस्थापन गरेको थियो । संघीय सरकारले ल्याएको बजेट पनि विभेदकारी भएको मेयर थापाको बुझाइ छ । उनका अनुसर संघीय सरकारले आफ्नो पक्षका स्थानीय तहलाई मात्रै राम्रो बजेट दिने गरेको छ ।

 

संघले पठाउने अनुदान पनि चित्तबुझदो नभएको उनले बताए । ‘संघीय सरकारले बनाएको बजेट एकदमै विभेदकारी छ,’ उनले भने, ‘ओलीको सरकारले बनाएको बजेटमा सबै आफ्ना पक्षलाई मात्रै बजेट पठाइएको छ । हामीलाई समानीकरणलगायत अनुदानमा ठगिएको छ ।’ 


मेयर थापाको नेतृत्वमा नगरपालिकाले चार वर्षे अवधिमा करिब २ सय किलोमिटर सडक कालोपत्रे गरिसकेको छ । नगर क्षेत्रभित्रका सडको स्तरोन्नति गरेर सफा सहर बनाइएको छ । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न काम गरिरहेको छ । सुत्केरी हुने महिलालाई सुत्केरी पोषण भत्ता प्रदान गर्ने गरेको छ । मेयर थापा अहिले नगर क्षेत्रमा पोखरी निर्माण गरेका छन् ।

 

१२१ बिघा क्षेत्रफमा बन्न लागेको मानव निर्मित पोखरी देशकै सबैभन्दा ठूलो हुने उनको दाबी छ । पोखरीमा माछापालनसँगै पर्यटन विकासका लागि काम गर्ने लक्ष्य राखेको उनले बताए । ‘पोखरीमा माछापालनसँगै पर्यटनको विकास गर्ने सोच छ,’ उनले भने, ‘यसले नगरको आम्दानीसमेत वृद्धि गराउने विश्वास लिएका छ ।’ यसबाहेक नगरपालिका क्षत्रेमा पार्क निर्माण गरिएका छन् । नगरपालिका क्षेत्रमा १८० बिघा क्षेत्रफलमा फलफूल रोपेर बगैँचा निर्माण गरिएको छ । यसले नगरपालिकामा फलफूल उत्पादन वृद्धि गराउने मेयर थापाको विश्वास छ । नगरपालिकामा आँप, लिची, कटहरलगायत बिरुवा रोपिएको छ । कृषि तथा पशुपालन विकासका लागि स्थानीयलाई उत्पादनमा अनुदान दिने, बिउबिजनको व्यवस्था गर्ने कामसमेत नगरपालिकाले गरेको छ । नगरपलिकाले यस वर्षको बजेटमा पनि स्वास्थ्य र कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको मेयर थापाले सुनाए ।