close

गुल्मीको नयाँगाउँका बहिनी समूहलाई बाख्रा उपहार 

गुल्मीको नयाँगाउँका बहिनी समूहलाई बाख्रा उपहार 

Trulli
ADVERTISEMENT

रूपन्देही–गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा बहिनी समूहलाई उपहारस्वरूप बाख्रा बाँडिएको छ । नयाँगाउँको पिठादी महिला उद्यम समूहले बहिनी समूह चेप्टेढुंगा महिला उद्यम समूहलाई १९ वटा बिउ पाठी प्रदान गरेको हो । 

 

समूहका सदस्यले एक/एक वटाका दरले ६ देखि ८ महिनाका बिउ पाठी प्राप्त गरेको सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना धुर्कोट गाउँपालिका संयोजक शंकर नेपालीले बताए ।

 

सिर्जनशील सामुदायिक विकास केन्द्र र हेफर प्रोजेक्टद्वारा आयोजित कार्यक्रममा उपहारस्वरूप पाठी बाँडिएको हो । पिठादी महिला समूहलाई परम्परागत खोरमुक्त समूह घोषणा गरिएको छ । परम्परागत खोर अन्त्य गरी समूहका सबै सदस्यको घरमा बाख्रापालनको आधुनिक खोर बनाएपछि समूहलाई परम्परागत खोरमुक्त घोषणा गरिएको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले समूहलाई परम्परागत खोरमुक्त समूह घोषणा गरेको परियोजना संयोजक नेपालीले जानकारी दिए । धुर्कोटमा पालिकाको ७५ र हेफरको २५ प्रतिशत लगानी तथा सिर्जनशील सामुदायिक केन्द्रको सहजीकरणमा बाख्रा विकास परियोजना लागू भएको छ ।

 

परियोजना धुर्कोट पालिकाको वडा नम्बर १ नयाँगाउँ, २ पीपलधारा, ३ हाडहाडे र वडा नम्बर ७ वाग्लामा सञ्चालन भएको छ । हालसम्म परियोजनामा १९५३ महिला आबद्ध छन् ।


परियोजना लागू भएपछि सुरुमा महिलाको समूह बनाउने, समूहमा आवद्ध सदस्यलाई आधारभूत तालिम, पशुको उचित व्यवस्थापन तालिम, समूह व्यवस्थापनलगायत तालिम प्रदान गरिएको सिजर्ननशील सामुदायिक विकास केन्द्रका परियोजना फोकल पर्सन नरेश भण्डारीले बताए । त्यस्तै, घाँस वितरण, तरकारीको बिउ, बिउ पाठी तथा बिउ बोका वितरणजस्ता कार्यक्रमार्फत महिलालाई बाख्रापालनमा आकर्षित गरी उनीहरूको आर्थिक जीवनस्तर वृद्धि गर्नतर्फ उन्मुख भएको भण्डारीले बताए ।

 

नयाँगाउँकी गीता पोखरेलले पहिलेदेखि नै परम्परागत रूपमा बाख्रापालन गर्थिन् । करिब दुई वर्षअघि पालिकाको सहयोगमा हेफर परियोजना लागू भएपछि उनको काम गर्ने शैली फेरिएको छ ।

 

पहिले परम्परागत खोरमा बाख्रा पाल्दै आएकी उनले अहिले आधुनिक खोर बनाएकी छिन् । परियोजना लागू भएपछि घाँसको बिउ, दाना बनाउने तरिका, बाख्राको स्याहार–सुसारसम्बन्धी धेरै विषयमा ज्ञान प्राप्त भएकाले अहिले मासु उत्पादन पनि बढेको उनको भनाइ छ ।

 

अघिल्लो वर्ष सवा २ लाख रुपैयाँका खसीबोका बिक्री गरेकी उनले यो वर्ष त्योभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेकी छन् । ‘परियोजनाले आधुनिक तरिकाबाट बाख्रा पाल्न सिकाएको छ,’ उनले भनिन्, ‘बाख्रा पाल्ने सीपसँगै समूहमा काम गर्दा क्षमता विकास पनि भएको छ ।’ समूहमा आबद्ध भइसकेपछि सामूहिक भावनाको विकास भएको उनको बुझाइ छ ।


गाउँपालिका अध्यक्ष पोखरेलले कृषि र पशुपालनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले परियोजनामा लगानी गरेको बताए । महिलाको क्षमता र आर्थिक विकासका लागि बाख्रा विकास परियोजनाको काम महत्त्वपूर्ण भएकाले बढीभन्दा बढी सक्रिय भएर लाग्न उनले आग्रह गरे । कार्यक्रममा धुर्काेट गाउँपालिका उपाध्यक्ष शिव केसीव वडाध्यक्षलगायत सहभागी थिए ।