close

कांग्रेस पालिका अधिवेशन :  नेतृत्वमा महिला शून्य ! 

कांग्रेस पालिका अधिवेशन :  नेतृत्वमा महिला शून्य ! 

Trulli
ADVERTISEMENT

बागलुङ– आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन् ।

 

नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ । आठ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ । 


    
सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् । गलकोट नगरपालिकामा आइतबार साँझसम्म सर्वसम्मतको प्रयास भएका कारण निर्वाचन हुन सकेको छैन । आजसम्ममा मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइने निर्वाचन समितिले जनाएको छ । 

 

बरेङ गाउँपालिकामा पार्टीभित्रै सदस्यताका विषयमा विवाद हुँदा निर्वाचनका कार्यक्रम स्थगन भएको कांग्रेसका एक नेताले बताए । बरेङमा निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुने टुङ्गो छैन । निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत निर्वाचित भएका छन् । 

 

जैमिनी नगरपालिकामा प्रेमप्रसाद सापकोटा निर्वाचित भए । ताराखोला गाउँपालिकामा कमलापति पाठक सर्वसम्मत निर्वाचित भए । निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिकामा लीलाबहादुर छन्त्याल र काठेखोला गाउँपालिकामा यामदत्त कँडेल सर्वसम्मत चयन भए । बागलुङका १० स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरपालिकाको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा निर्वाचित भए ।


 
अर्को पक्षबाट उम्मेदवार बन्नुभएका कर्ण हमाललाई उहाँले ६२ मतान्तरले पराजित गरे । खसेको ३८८ मतमध्ये शर्माले २२४ मत र हमालले १६२ मत प्राप्त गरे । सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमा समेत महिलाको सहभागिता शून्य छ । कोषध्यक्ष निर्वाचित पदाधिकारीको बैठकले मनोनयन गर्ने भएकाले महिला पदाधिकारीमा ल्याउने सम्भावना बाँकी रहेको एक नेताले बताए ।

 

गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वडामा निर्विरोध नेतृत्व चयन भएको थियो । ढोरपाटन नगरपालिका–५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो । वडा तहमा समेत महिला सहभागिता छैन । ‘नेतृत्वमा महिला नआउनु यो दुर्भाग्य हो’, महिला नेत्री ज्ञानु श्रीष शर्माले भनिन्, ‘बिधानमै व्यवस्था गरेर पदाधिकारीमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्छ ।’