close

लक्षित समूहलाई कोरोनाविरुद्धको खोप : सरकारी योजना सफल हुने संकेत

लक्षित समूहलाई कोरोनाविरुद्धको खोप : सरकारी योजना सफल हुने संकेत

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले असोज मसान्तसम्म लक्षित समूहको एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्य सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेको योजनाले सफलता पाए कोरोना भाइरसविरुद्धको खोप लक्षित समूहमा पुग्ने संकेत देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो आँकडाअनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । 
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहाल लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने बताउँछन् । ‘हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनेका थियौँ’, उनले भने, ‘सोहीअनुसार दैनिक खोप अभियान सञ्चालन गरिरहेका  छौँ  । असोज मसान्तसम्म भनेअनुसार खोप पुर्‍याउँछौँ ।’ 

 

२९ असरामा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले नियुक्त भएलगत्तै कोरोना भाइरसविरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र असोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्‍याइने घोषणा गरेका थिए । सोहीअनुरूप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेरै भए पनि खोप ल्याउने नीति लिएको छ । 


सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउन सक्ने दाबी गरेको छ । पहिलो चरण अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरू लक्ष्य पनि पूरा हुने सरकारी अधिकारीको भनाइ छ । 

 

स्वास्थ्य मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाए रोग नियन्त्रण गर्न सकिने बताएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा अभियान सञ्चालन गरिरहेको छ । अहिले दैनिक एक लाख बढीले खोप लगाइरहेको मन्त्रालयको तथ्यांक छ । 


हालसम्म रुकुम पूर्व, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उनका अनुसार कुल जनसंख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख ९ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी १ करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

 

खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि संक्रमण पनि घट्दै गएको छ । आइतबार १३ हजार ७३६ मा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा संक्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा संक्रमण देखिएको छ । 


हालसम्म नेपालमा संक्रमणको दर १९ प्रतिशत छ । नेपालमा पहिलो पटक संक्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक ९ माघ २०७६ मा संक्रमण देखिएको थियो । सरकारले गत १४ माघदेखि खोप लगाउन सुरु गरेयता ७ महिना १६ भदौमै १ करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए । 

 

यस्तो छ जिल्लागत खोप लगाउनेको संख्या 

 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकाको जनसंख्यालाई खोप लगाइएको छ । काठमाडौंमा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसंख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसंख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकिएको छ । 

 

यस्तै, भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ । रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ४७ प्रतिशतलाई लगाइएको छ ।  काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछापमा २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

 

कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसंख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ । स्याङ्जामा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वतमा पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ । 

 

खोप लगाउने प्रदेशगत जनसंख्या 

 

मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा खोप लगाइएको छ । बागमतीमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ । गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४/२४ प्रतिशत जनसंख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकिएको छ । 


यस्तै, प्रदेश १ मा १८ प्रतिशतले पहिलो एवं १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्र काम गर्ने सबैजसोलाई खोप लगाइसकिएको बताए ।  ‘हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘सबै नागरिकलाई खोप दिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।’


सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिँदै आएकाबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई दिइसकिएको छ । 

 

मन्त्रालयले ४ देखि १४ असोजसम्म ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ । 


यस्तै, काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइँदै छ । 

 

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउन खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि मात्रा पुर्‍याउने सरकारको भनाइ छ । 

 

बालबालिकाका लागि १ लाख मात्रा आउँदै 

 

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप आयातको तयारी गरेको छ । बालबालिकाका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइनेछ ।


मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउन रकमा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले १ लाख मात्रा फाइजर खोप चाँडै आउने बताए । उनका अनुसार अहिलेसम्म १ करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उनले जानकारी दिए ।

 

कुल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारको तयारी छ । कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप र चैतसम्म ३ करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ । 

 

सार्कमा नेपाल चौथो 


कोरोना भाइरसविरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै, दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित वर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको डा. अधिकारीले बताए ।