close

दाङमा संक्रमण घटेपछि रित्तिँदै कोरोना अस्पताल

दाङमा संक्रमण घटेपछि रित्तिँदै कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

दाङ– दाङमा दैनिक कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । थोरै संख्याका संक्रमित भेटिँदै आए पनि गम्भीर प्रकृतिका बिरामी थोरै मात्रामा भएको दाङका कोभिड अस्पतालले जनाएका छन् । 

 

कुनै बेला बेड, अक्सिजन नपाउने अवस्थामा रहेका कोरोना अस्पताल अहिले खाली हुँदै गएका छन् । जिल्लाका तीन स्थानीय तहमा अहिले कोरोनाका बिरामी एक जना पनि छैनन् । बंगलाचुली, राजपुर र दंगीशरण गाउँपालिकामा कोरोनाका सक्रिय बिरामी नरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । 

 

घोराहीमा १९, तुलसीपुरमा १४, राप्तीमा ११, लमहीमा ६, गढवामा एक, बबईमा एक र शान्तिनगरमा एक जना कोरोनाका सक्रिय बिरामी छन् । दाङका अन्य सात स्थानीय तहमा अहिले ५९ जना कोरोनाका सक्रिय बिरामी छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना मात्रै कोरोनाका बिरामी आइसियुमा उपचाररत रहेको जनाइएको छ ।  त्यसैगरी कोरोना अस्पताल बेलझुण्डीमा आइसियुमा ६ जना उपचारमा रहेको व्यवस्थापक द्रोण ओलीले बताए ।


 
तुलसीपुर उपमहानगरले सञ्चालन गरेको मेट्रो अस्पताल र लमहीको रातोडाँडामा सञ्चालन गरिएको कोरोना अस्पतालमा बिरामीको संख्या शून्य छ । 

 

१ लाख ६० हजारलाई खोप 

 

दाङमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ लाख ६० हजार पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत फागुनदेखि सुरु भएको खोप कार्यक्रमअन्तर्गत अहिलेसम्म १ लाख ६० हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

पहिलो चरणमा अग्रपंक्तिमा खटिने लक्षित वर्गलाई खोप लगाइएको थियो । १ लाख ३० हजारले पूर्ण खोप लगाइसकेका छन् भने बाँकी ३० हजारले आगामी ५ र ६ कात्तिकमा दोस्रो डोज खोप लगाउने निश्चित भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।


अहिलेसम्म ४५ वर्षमाथिका सबै नागरिकले खोप लगाएका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, शिक्षक, पत्रकार एवं कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएर काम गरेकाले समेत खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले तिहारअघि नै बालबालिकाका लागि खोप आउने सूचना प्राप्त भएको बताएको छ ।