close

सांस्कृतिक गुरुलाई भक्तपुर नगरको सम्मान

सांस्कृतिक गुरुलाई भक्तपुर नगरको सम्मान

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले २० जना सांस्कृतिक गुरु र स्थानीय पथ प्रदर्शकलाई सम्मान गरेको छ । पालिकाले विश्व पर्यटन दिवस अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा गुरुहरूलाई प्रमाणपत्र वितरण गरी सम्मान गरेको हो । कार्यक्रममा अध्यक्ष बिजुक्छेले सांस्कृतिक गुरुहरूको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

 

‘भक्तपुरको कला, संस्कृति र भाषा स्थानीय व्यक्तिलाई सिकाउँदै लग्नुपर्छ,’ उनले भने, ‘नयाँ तथा आधुनिक घर निर्माण गर्दा पुर्‍याउनुपर्ने सावधानीबारे जनतालाई सचेत बनाउनुपर्छ ।’


नगरप्रमुख सुनील प्रजापतिले पालिकाले कला, संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरूको सम्मानलाई निरन्तरता दिएको बताए । नगरभित्र मौलिक शैलीमा घर बनाउने स्थानीयलाई पालिकाले ३५ प्रतिशत अनुदान दिँदै आएको र त्यसका लागि मापदण्ड तय गरिएको उनले जानकारी दिए । नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले मौलिक भाषा, कला र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई आवश्यकताबोध गराउनुपर्नेमा जोड दिए । संस्कृतिलाई जीवन्त बनाउँदै लग्नुपर्ने र आफ्नो विधाको सीप एवं ज्ञानलाई लिपिबद्ध गर्न सके कला, संस्कृति संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ ।


    
संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल मण्डलका अन्य सहरले भन्दा भक्तपुरले सांस्कृतिक गरिमा कायम गर्दै आएको सुनाए । ‘भक्तपुर खुला अकासमुनिको खुला संग्रहालय हो,’ उनले भने, ‘विश्वविद्यालयमा संस्कृति विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गइरहेका बेला पालिकाले संस्कृति, राजनीतिलगायत विषय पढ्ने स्थानीयलाई छात्रवृत्तिको व्यवस्था गर्नु अनुकरणीय छ ।’