close

स्थानीय सरकारलाई संघको बेवास्ता

स्थानीय सरकारलाई संघको बेवास्ता

Trulli
ADVERTISEMENT

पदमपाणि शर्मा
नगरप्रमुख, फलेवास नगरपालिका, पर्वत

 

पर्वतको फलेबास नगरपालिका प्रमुख पदमपाणि शर्मा कार्यकालको चार वर्षे अवधिमा स्थानीय सरकारलाई सीमित स्रोत–र साधनका बाबजुद नागरिकको नजिक पुर्‍याउने काम भएको दाबी गर्छन् । संघ सरकारले केन्द्रीकृत मानसिकता छाडेको भए अझ धेरै काम गर्न सकिने नगरप्रमुख शर्माको भनाइ छ । 


संघले तीन तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्वलाई बुभ्mन नसकेको उनको बुझाइ छ । ‘संघ सरकारले तीन तहको सहकार्य, समन्वय र सहअस्तित्वलाई  बुझ्न  सकेन,’ उनले भने, ‘खाली केन्द्रीकृत मानसिकता मात्रै राख्यो । यसले धेरै काम गर्न असहज भयो ।’ 


संघले हरेक वर्ष पठाउने बजेट संघीयताको मोडलमा नभएको उनको भनाई छ । उनका अनुसार हरेक वर्ष सरकारले ससर्त बजेटलाई घटाउँदै समानीकरण अनुदानलाई बढाउँदै जानुपर्ने थियो । तर, अहिले सरकारले ससर्तका टुक्रे कार्यक्रम स्थानीय तहमा धेरै पठाउने गरेको उनले बताए । ‘हामीलाई सबै ससर्तका टुक्रे कार्यक्रम बढाएर पठाइएको छ,’ उनले भने, ‘हाम्रो आवश्यकताअनुसार काम गर्न पाएनौँ । ससर्तलाई घटाएर समानीकरण अनुदान बढाए मात्रै हामीलाई काम गर्न सहज हुन्छ ।’ संघीयताको असल कामका लागि वित्तीय हस्तान्तरण हुनुपर्ने उनको धारणा छ । तर, त्यस्तो भइरहेको छैन । संघले बजेट नदिएर आफ्ना मातहतका कार्यालयलाई जस्तो निर्देशन मात्रै दिइरहेको नगर प्रमुख शर्माले सुनाए । ‘संघले निर्देशन मात्रै दिइरहेको छ,’ उनले भने, ‘बरु स्थानीय सरकारलाई वित्तीय हस्तान्तरण गरेर सबल बनाउने हो । आफ्ना मातहतका कार्यालयजस्तो निर्देशन र परिपत्र जरुरी छैन ।’


संघको केन्द्रीकृत बजेटका बाबजुद नगरपालिकामा चार वर्षभित्र धेरै काम भएको उनको भनाइ । नगर क्षेत्रमा अहिले चक्रपथ निर्माण भइसकेको छ । ३० किमि सडक कालोपत्रे भइसकेको छ । पर्यटन क्षेत्रमा फलेवासलाई आकर्षणको केन्द्र बनाएको छ । कृषि क्षेत्रको विकासका लागि उनले नगरमा ‘बिरुवा हाम्रो फल तपाईंको’ कार्यक्रम सञ्चालन गरिएका छन् । कृषि उत्पादनमा नगर आत्मनिर्भर भएको छ । किसानलाई डेढ लाख फलफूलका बिरुवा वितरण गरिएको छ ।

 

कृषि क्षेत्रमा लागू गरेको अर्को कार्यक्रम एक वडा एक पशु फार्म रहेको उनले बताए । यसले पशुपालनमा जोड दिनेछ । नगरले पशुपालनलाई प्रोत्साहन गर्न अनुदान पनि दिइरहेको नगर प्रमुख शर्माले जानकारी दिए । मजदुरलाई पेन्सन दिन मजदुर कल्याणकारी कोष सुरु गरिएको छ । शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र स्कुल बसको व्यवस्था गरिएका छन् । स्थानीय सरकारले बनाउने कानुनमा ५० वटा कानुन निर्माण भइसकेका छन् । अन्तिम वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको नगर प्रमुख शर्माले बताए । ‘अन्तिम वर्षमा हामीले स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यसबाहेक पुराना अधुरा काम सक्न प्राथमिकतामा राखेका छौँ ।’ 


कोभिडका कारण आफ्ना कतिपय प्रतिबद्धता पूरा गर्न नसकिएको उनी बताउँछन् । कोभिड नियन्त्रणमा पनि फलेबास नगरपालिकाले सक्दो प्रयास गरेको छ । सुरुदेखि नै जनचेतना फैलाउने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन लगाउने काम गरेको थियो । बाहिरबाट आएकालाई राख्न टोलअनुसार क्वारेन्टाइन निर्माण गरिएको थियो । संक्रमितको उपचारका लागि ७ वटा स्थानीय तह मिलेर संयुक्त रूपमा आइसोलेसन सञ्चालन गरिएको उनले बताए । ‘हामीले संक्रमितको उपचारका लागि संयुक्त आइसोलेसन बनाएका थियौँ,’ उनले भने, ‘यो एकदमै प्रभावकारी रह्यो ।’ दोस्रो लहरमा अलि असहज भएपछि कोभिड अस्पताल निर्माण गरेर संक्रमितको उपचार गरिएको उनको भनाइ छ । बिरामी ओसारपसार गर्न नगरले दुई वटा एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको थियो । धेरै समस्या भएका बिरामीलाई पोखरासम्म लगेर उपचार गराएको नगर प्रमुख शर्माले जानकारी दिए । तेस्रो लहर आए पनि नगरपालिका तयारी अवस्थामा रहेको उनले बताए । कोभिड नियन्त्रणमा लागेको खर्चसमेत संघ सरकारले नबेहोरेको उनको गुनासो थियो । ‘ठूलो महामारीको जिम्मा संघ सरकारले लिनुपर्ने थियो,’ उनले भने, ‘तर संघले लिएन । बजेट, जनशक्ति जम्मै हामीले व्यवस्थापन गर्नुपर्‍यो  । यसले हाम्रो नगरको विकासमा अवरोध पुर्‍यायो ।’