close

कटहरीमा विकास निर्माण धमाधम 

कटहरीमा विकास निर्माण धमाधम 

Trulli
ADVERTISEMENT

विराटनगर– प्रदेश १ को राजधानी सहर विराटनगर महानगरपालिकासँग सीमा जोडिएको मोरङको कटहरी गाउँपालिका विकास निर्माणमा फड्को मार्दै अगाडी बढेको छ । पूर्वाधार विकाससँगै पालिकाभित्र शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले जानकारी दिए । 


जनप्रतिनिधि आएपछि पालिकाभित्र चार वर्षे अवधिमा अधिकांश सडक कालोपत्रे, ग्राभेल हुनुका साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा धेरै सुधार भएको उनले बताए । ‘जनप्रतिनिधिरु आएपछि सडक, गल्लीमा अहिले धमाधम काम भइरहेका छन्,’ अध्यक्ष कामतले भने, ‘सडकमा कालोपत्रे, ग्राभेल, पिसीसी र आरसीसीको काम योजनाबद्ध रूपमा भइरहेको छ ।’

 

पालिकाले युवायुवतीका लागि बेसिक कम्प्युटर तालिम, सीपमूलक र क्षमता अभिवृद्धिलगायत कार्यक्रम पनि सञ्चालन भइरहेको छ । बेरोजगार युवतीका लागि सिलाइ–बुनाइ र गुडिया बनाउने तालिम दिइएको छ । पालिकाले आर्थिक अवस्था कमजोर र सीमान्तकृत समुदायका युवायुवतीलाई उक्त तालिम दिएको हो । सीमान्तकृत र पिछडा समुदायका महिला एवं पुरुषको क्षमता अभिवृद्धि र नेतृत्व विकासको तालिम पनि दिइँदै आएको अध्यक्ष कामतले बताए । ‘धेरै वडा कार्यालय भाडाका घरमा चलेका थिए । अहिले आफ्नै संरचना बनाएका छौँ’, उनले भने । 

 

कृषकलाई आधुनिक उपकरण 

कटहरी पालिकाले किसानलाई ५० प्रतिशत सरकारी अनुदानमा आधुनिक कृषियन्त्र उपकरण वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रद्वारा पालिकाबासी किसानलाई आधुनिक यन्त्र उपकरण वितरण गरिएको हो ।

 

पालिकाले केही दिनअघि कटहरी वडा नम्बर १ का ५० किसानलाई आधुनिक यन्त्र उपकरण प्रदान गरेको छ । कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ ज्ञान केन्द्रले धान ब्लक सञ्चालन समन्वय समितिमार्फत २ जनालाई इलेक्ट्रिक मोटर, ३ जनालाई पम्प सेट, १ जनालाई रिपर फोरजी, ३० जनालाई पावर स्प्रेयर, १० जनालाई पावर टिलर र ४ जनालाई मिनिटिलरसहितका यन्त्र उपकरण हस्तान्तरण गरेको छ ।

 

सरकारी अनुदानमा आवश्यक कृषि उपकरण पाएपछि स्थानीय किसान खुसी छन् । ज्ञान केन्द्रमार्फत उपलब्ध गराइएका यन्त्र उपकरणको मूल्य ३० लाख ४० हजार रुपैयाँ परेको अध्यक्ष कामतले सुनाए ।

सरकारी अनुदानस्वरूप यसको ५० प्रतिशत हिस्सा सरकारले बेहोरेको छ । यसअघि कटहरीका किसानलाई पालिकाले सरकारी अनुदानमा धानको बिउ, जिंक, बुम फ्लाबर, जैविक विषादी र मललगायत सामग्री उपलब्ध गराइसकेको छ ।

 

पर्यटकीय क्षेत्रको विकास

कटहरीलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पालिकाले योजना अगाडि ल्याएको अध्यक्ष कामतले जानकारी दिए । कटहरीको बालुघाट क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गाउँपालिका लागिपरेको उनको भनाइ छ ।

 

‘यस ठाउँमा १२ बिघा क्षेत्रफल छ । यसलाई आन्तरिक पर्यटक आवागमन क्षेत्रका रूपमा विकास गर्न हामी लागिपरेका छौँ,’ उनले भने, ‘अहिले घेराबारको तयारी भइरहेको छ ।’ 

 

कटहरीमा धार्मिक स्थल पनि छन् । धार्मिक मठमन्दिरको विकासमा गाउँपालिकाले पहल गरिरहेको उनले सुनाए । कटहरी वडा नम्बर ७ मा रहेको वनसखण्डी मन्दिर धार्मिक स्थलको रूपमा विकास गर्ने काम भइरहेको अध्यक्ष कामतले बताए ।

 

सुकुम्बासी व्यवस्थापन 
कटहरी अव्यवस्थित सुकुम्बासी बढी भएको गाउँपालिका पनि हो । यहाँ सुकुम्बासीको व्यवस्थापनमा पनि गाउँपालिका लागिपरेको छ । जनता आवास कार्यक्रममार्फत ४१ घरपरिवार सुकुम्बासीको व्यवस्थापन गरिसकिएको पालिका अध्यक्ष कामतले जानकारी दिए । ‘थातबास नभएका सुकुम्बासीका लागि घर निर्माण गरेर सारिसकेका छौँ । सुकुम्बासीको व्यवस्थापन गर्ने काम भइरहेको छ । सन्थाल समुदायका सुकुम्बासीलाई व्यवस्थित घर बनाएका हौँ’, उनले भने ।

 

सुत्केरीलाई नगद ५ हजार

कटहरीले सुत्केरी भएका महिलाका लागि नगद ५ हजार रुपैयाँ भत्ता दिने गरेको छ । गाउँपालिकाले गर्भवती र सुत्केरी हुने महिलाका लागि विशेष प्याकेज ल्याएको प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाले जानकारी दिए ।

 

‘पालिकाभित्र सुत्केरी भएका महिलाले अनिवार्य अस्पताल पुगेर नवजात शिशुलाई जन्म दिएको हुनुपर्दछ । अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘प्रसूतिपछि पालिकाभित्रका सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता दिने गरेका छौं ।’ 

 

गाउँपालिकाभित्र रहेको बर्थिङ सेन्टरको ल्याब पनि निःशुल्क गरिएको उनले बताए । कटहरीको थलहा र भौडाहमा रहेका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकिएको उनको भनाइ छ । स्थानीय स्वास्थ्य चौकीमा एमबीबीएसका डाक्टरले नागरिकलाई सेवा दिइरहेको थापाले बताए ।
पालिकाले विपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम चलाइरहेको छ । स्वास्थ्य बिमा कार्यक्रममका लागि पालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थापाले जानकारी दिए ।