close

भीमदत्त नगरपालिकाले तयार गर्‍यो प्रोफाइल 

भीमदत्त नगरपालिकाले तयार गर्‍यो प्रोफाइल 

Trulli
ADVERTISEMENT

कञ्चनपुर– भीमदत्त नगरपालिकाले नगर प्रोफाइल निर्माण गरेको छ । नगरपालिकाले नगरका सबै तथ्यांकलाई अनलाइन अभिलेखीकरण गर्न संघीयता सहयोग साझेदारी कार्यक्रमसँगको सहकार्यमा प्रोफाइल निर्माण गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताए ।

 

उनका अनुसार नगर र नगरवासीसँग जोडिएका सबै सूचनाको अनलाइन अभिलेखीकरणका लागि नगर प्रोफाइल तयार गरिएको छ । प्रोफाइललाई नगर डाटा बैंकका रूपमा प्रयोग गरिने उनले बताए । देशभरिका ७५३ स्थानीय तहमध्ये १२ वटाले मात्रै हालसम्म नगर प्रोफाइल निर्माण गरेका छन् । प्रोफाइल निर्माणका लागि सबै वडामा गणक खटाइएको थियो । गणकबाट जनसंख्या, घरधुरी, परिवारको विवरणलगायत तथ्यांक संकलन गरिएको थियो ।

 

गत पुसमा सुरु भएको प्रोफाइल निर्माणकार्य कोरोना संक्रमणले  प्रभावित बनेको सूचना प्रविधि अधिकृत कलौनीले बताए । उनका अनुसार घरधुरी सर्वेक्षणबाट तथ्यांक संकलन गरी अनलाइन अपडेट गरिएको छ । प्रोफाइलमा सबै वडाका घरधुरीको पेशा, रोजगारीको अवस्था, जनसंख्या, उमेर, लिंग, शिक्षा–स्वास्थ्यको अवस्थाबारे तथ्यांक राखिएको छ ।

 

त्यस्तै कृषि उत्पादन, जग्गा उपयोगको अवस्था, सवारी साधन तथा सूचना प्रविधिको प्रयोग पूर्वाधारको अवस्था, सार्वजनिक स्थान र सेवा प्रदायक कार्यालयका बारेमा पनि प्रोफाइलमा विवरण समेटिएको छ । पर्यटकीय क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ । भिजिटरले सबै विवरण अनलाइनमार्फत हेर्न सक्नेछन् ।  नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सूचनामा सहज पहुँचका लागि नगर प्रोफाइल निर्माण गरिएको बताए । उनले  योजना निर्माणका लागि तथ्यांक महत्वपूर्ण हुने भएकाले त्यसको अभिलेखीकरण गर्न नगर प्रोफाइल तयार पारिएको जानकारी दिए ।