close

सहरबजार छिचोलेर गाउँ पस्दै मुटु रोग

सहरबजार छिचोलेर गाउँ पस्दै मुटु रोग

Trulli
ADVERTISEMENT

चितवन– सहर–बजारका नागरिकमा बढी देखिने गरेको मुटु रोग पछिल्लो समय घरगाउँमै भित्रिन थालेको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि मुटु रोगीको संख्या ह्वात्तै बेको देखिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटु रोगको समस्या घरगाउँमा देखिन थालेको विज्ञहरू बताउँछन् ।

 

मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी यातायात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धूमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन् । उनले भने, ‘चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटु रोग निम्त्याइरहेको छ ।’  सहरियाले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समय परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

 

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धूमपान र सुर्तीजन्य पदार्थ सेवनले ग्रामीण क्षेत्रका युवामा मुटु रोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउन्डेसनका पूर्वअध्यक्षसमेत रहेका रेग्मीको भनाइ छ । 

 

सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनी बताउँछन् । मुटु रोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनको भनाइ छ ।


‘पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मिहिनेत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्रयाक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ’, उनले भने, ‘युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।’ ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी सुनाउँछन् ।

 

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउँछन् । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ ।  ‘कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयाघात भएर मृत्यु हुने गरेको छ’, उनले भने, ‘रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्त सञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।’ 

 

सकारात्मक सोच राख्नु मुटुका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै डा. अनिलले भने, ‘नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्माेन उत्पादन गर्छ । त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।’


चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको जानकारी दिए ।


विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटु रोगका कारण मृत्यु हुने गर्दछ । मुटु रोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयाघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्छन् ।

 

विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै उनले भने, ‘मुटु रोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्छन् ।’ विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्छन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनमा पुगेको छ ।

 

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्छन् । लौडारीको भनाइमा मुटु रोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा १ लाख जनसंख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्यांक रहेको उनले बताए ।

 

मुटु रोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटु रोगीमध्ये १६ प्रतिशतलाई हृदयाघात, ६ देखि १० प्रतिशतलाई मुटुको बाथ रोग हुने गरेको छ । यस्तै, ४ देखि १० प्रतिशत धड्कनसम्बन्धी र ४ देखि ७ प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

 

मुटु रोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, ६ देखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धूमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ ।  दक्षिण एसियामा मुटु रोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो । 


खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने उनले बताए । शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान लौडारीको सुझाव छ । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।’ 


उनले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धूमपान र मध्यपान नगर्न सुझाव दिए । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ ।

 

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा नीलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिए मुटु रोगको लक्षण हुन् सक्छ । यस्तै, मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ ।  हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रित रूपमा चल्नु र छातीमा हात राख्दा घर्केको महसुस हुने भए मुटु रोग लागेको हुन सक्ने विज्ञहरूको भनाइ छ ।