close

असुरक्षित गर्भपतनले जोखिममा पर्दै महिलाको स्वास्थ्य

असुरक्षित गर्भपतनले जोखिममा पर्दै महिलाको स्वास्थ्य

Trulli
ADVERTISEMENT

दाङ– प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार पूर्ति गर्न सुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा आउने जोखिम कम गर्न सकिने सरोकारवालाले बताएका छन् । सुरक्षित गर्भपतन सेवा हाम्रो प्रतिबद्धता, कोभिड–१९ महामारीमा पनि सेवाको सुनिश्चितता नारासहित दाङमा सुरक्षित गर्भपतन दिवस, २०७८ अवसरमा गरिएको छलफलमा उक्त कुरा बताइएको हो ।

 

सरकारले बिहेबारी २० वर्षपारि उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, दाङमा अभैm पनि सानो उमेरमै गर्भ पतन गराउनेको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । 


दाङमा आर्थिक वर्ष २०७७÷७८ मा २० वर्षमुनिका २९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । १३२ महिलाले औषधीबाट गर्भपतन गराएका छन् भने १६१ जनाले औजार प्रयोगबाट गर्भपतन गराएको स्वास्थ्य कार्यालयले बताएको छ ।

 

२० वर्षमाथिका जम्मा २ हजार ५३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यीमध्ये १ हजार १ सय ७२ महिलाले औषधीबाट गर्भपतन गराएका छन् भने ८ सय ८१ जनाले औजार प्रयोगमार्फत गर्भपतन गराएका छन् । एक वर्षमा २ हजार ३ सय ४६ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय दाङको तथ्यांक छ । 

 

परिवार नियोजन दाङ शाखामा आर्थिक वर्ष २०७७/७८ मा ४८७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यीमध्ये २० वर्षमुनिका ३५ र २० वर्षमाथिका ४५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको प्रबन्धक वसन्त खनालले बताए । 

 

कार्यक्रममा परिवार नियोजन दाङमा कार्यरत डा. अमित लामगादेले महिलाले अनिच्छत गर्भलाई सुरक्षित रूपमा पतन गराउने गरेको जानकारी दिए । गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिन नहुने उनको धारणा छ ।

 

अस्थायी साधनको प्रयोग गरेर सुरक्षित हुनु बुद्धिमानी हुन्छ । तर, पछिल्लो समय गर्भपतनलाई परिवार नियोजनका साधनको रूपमा प्रयोग गर्ने क्रम बढेकाले पटक–पटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने उनले बताए ।  घोराही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने सुरक्षित गर्भपतन सेवालाई निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिर्न नहुने सुझाव दिए ।


स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिवार नियोजन दाङका प्रबन्धक खनालले गरेका थिए ।