close

संघले स्थानीय तह भूगोल हो भन्ने बुझ्नै सकेन 

संघले स्थानीय तह भूगोल हो भन्ने बुझ्नै सकेन 

Trulli
ADVERTISEMENT

छत्रराज पौडेल
नगरप्रमुख, गैँडाकोट नगरपालिका, नवलपरासी


संघले बजेट निर्माण गर्दा स्थानीय सरकारको सुझाव नलिने गरेकामा गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल असन्तुष्ट छन् । संघले स्थानीय सरकारलाई बजेट मनलाग्दी ढंगले वितरण गर्ने गरेको उनले बताए । ‘संघले बजेट निर्माणमा हामीलाई सोध्दैन,’ उनले भने, ‘माथिबाट हेरेर सबैतिर एकै खाले बजेट पठाइएको छ । मुख्य कुरा संघले स्थानीय तह भूगोल हो भन्ने बुझेन । बजेट सीधै पठाइयो भने काम हुन्छ भन्ने बुझेन ।’ 


बितेको चार वर्षमा संघले स्थानीय तहलाई ससर्तका योजना मात्रै पठाएर त्यसैमा अलमल्याएको उनको बुझाइ छ । कोरोना महामारीको समय केन्द्र सरकारले पहिलो लहरमा केही सहायता दिए पनि अन्य खर्च पठाएन । गैँडाकोट नगरपालिकाले कोरोनाको पहिलो लहरमा जनचेतना फैलाउने मुख्य काम ग¥यो । बाहिरबाट आउने मानिसका लागि स्थानीय स्तरको क्वारेन्टाइन निर्माण गरियो । बन्दाबन्दीको अवस्थामा किसानको उत्पादनलाई खेर जान नदिन नगरले कृषि सामग्रीलाई कृषि उपज बजारसम्म पुर्‍यायो । दोस्रो लहर आइपुग्दा नगरपालिकाले २० बेडको कोभिड अस्पताल बनाइसकेको थियो । यसको सञ्चालन, स्वास्थ्य सामग्री खरिदलगायत काम सबै नगर आफैंले गर्‍यो  । जनशक्तिमा केही डाक्टर, नर्स भने संघीय सरकार मातहत खटाएको उनको भनाइ छ ।

 

नगरप्रमुख पौडेल आफ्नो नगरमा मुख्यतः कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । अहिले गैँडाकोटमा दूध बिक्री गर्ने ८ सय डेरी छन् । उत्पादित दूध डेरीलाई दिनुभन्दा ठूलो पाउडर उद्योग निर्माण गर्न सकिए किसानले फाइदा लिन सक्छन् भन्ने योजना बुनिँदै छ । कृषि उत्पादन बढाउन सिँचाइ व्यवस्था, धान र मकैको पकेट क्षेत्र घोषणा गरेर कृषिमा आत्मनिर्भर बनाउन खोजिरहेका छौँ । सबै क्षेत्रमा विद्युतीकरण गरिसकिएको छ । खानेपानीमा अहिले नगरबासीले समस्या बेहोर्नुपरेको छैन । सडक धमाधम निर्माण भइरहेका छन् । स्वास्थ्य क्षेत्रमा एउटा नगर अस्पतालसहित तीन वटा वडाबाहेक सबैमा स्वास्थ्य केन्द्र स्थापना भइसकेका छन् । 


हरेक माध्यमिक तहका विद्यालयमा स्टाफ नर्स व्यवस्था गरिएको छ । अहिले नगर क्षेत्रमा केबलकार निर्माण कार्यलाई प्राथमिकताका साथमा अगाडि बढाएका छौँ । कानुनका क्षेत्रमा २७ वटा कानुन निर्माण भएर सोहीअनुसार नगरका प्रशासनिक काम सञ्चालन गरिरहेका छौँ  । अन्तिम वर्षको बजेटमा पनि मुख्य प्राथमिकता कृषिलाई नै दिएका छौँ । ‘हाम्रो मुख्य प्राथमिकता कृषि क्षेत्र हो,’ उनले भने, ‘यस वर्षको बजेटमा पनि त्यसलाई प्राथमिकतामा राखेका छौँ । यसबाहेक अन्य कार्यक्रम पनि छन् ।’ 


यस वर्षको बजेटमा नगरले रोजगार बढाउन महत्त्व दिएको छ । त्यस्तै, दूधमा आत्मनिर्भर बनाउन पशुपालनमा अनुदान दिनेलगायत कार्यक्रम समावेश गरिएका छन् । कोभिडको समय भएकाले सबैलाई खोप निःशुल्क लगाउने व्यवस्था मिलाउने कार्यक्रम समेटेका छौँ । यसबाहेक मौलाकाली केबलकार र नेपाल विश्वविद्यालय स्थापनालाई पनि प्राथमिकतामा राखेका छौँ । यस अवधिमा शिक्षा क्षेत्रमा धेरै कायपलट गर्न सक्यौँ । ‘हामीले मुख्यतः शिक्षामा धेरै परिवर्तन गर्न सकेनौँ,’ उनले भने, ‘विद्यालय मर्ज गर्न सकिएन । सिकाइलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई ल्यापटप पुर्‍याउन सकिएन । बसको व्यवस्था गर्ने भनिए पनि सकिएन ।’ वैकल्पिक मार्गलगायत थुप्रै काम यो कार्यकालमा गर्न नसकिएको उनले बताए ।