close

संघ र प्रदेश सरकारको सहयोगबिनै कोरोना महामारीलाई पार लगायौँ

संघ र प्रदेश सरकारको सहयोगबिनै कोरोना महामारीलाई पार लगायौँ

Trulli
ADVERTISEMENT

विपिन ओझा
नगरप्रमुख, अमरगढी नगरपालिका, डडेल्धुरा

 

कोरोना महामारीका कारण हामीले ठूलो समस्या भोग्नुपर्‍यो । कोरोनाको लहर सुरु हुँदै गर्दा एकदमै अन्योलमा थियौँ । पर्याप्त बजेट नहुँदा हामीलाई असहज भयो । हामीसँग स्रोत–साधन सीमित थिए । तर, हामीले नगरको स्वास्थ्य प्रणाली सुधार गरिसकेका थियौँ । यसले हामीलाई कोभिडसँग लड्न केही सहज भयो । नगरभित्र रहेका ११ वटा स्वास्थ्य संस्थालाई कोभिड सुरु हुनेबित्तिकै परिचालन गर्‍यौँ । १८ वटा विद्यालयमा क्वारेन्टाइन बनायौँ । करिब १३ सय मानिसलाई क्वारेन्टाइनमा राख्यौँ ।

 

नगरका स्वास्थ्य स्वयंसेविकालाई निरन्तर खटायौँ । त्यसबेला पिसिआर परीक्षणका लागि असहज थियो । सबै स्थानीय तह मिलेर डडेल्धुरामा पिसिआर राख्न २० लाख रुपैयाँ सहयोग गर्‍यौँ  ।  यसअघि कोरोना परीक्षण गरेपछि स्वाब काठमाडौंसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले यो सेवा यही उपलब्ध हुन थालेको छ । यसबाट नागरिकलाई सहज भएको छ ।


दोस्रो लहरमा धेरै सहज भयो । हामीसँग पहिलेको अनुभव थियो । नगरभित्रका आइसोलेसन बेड तयारी अवस्थामै थिए । दोस्रो कोरोना भेरियन्ट सुरु भएपछि मानिस पहिलेजस्तो आत्तिएका थिएनन् । यो लहरमा भने हामीलाई अक्सिजन अभाव भयो । धनगढी, नेपालगञ्ज र विराटनरसम्म पुगेर अक्सिजन ल्याएँ । आफैं चढ्ने गाडीलाई एम्बुलेन्ससमेत बनायौँ । कोभिडबाट मृत्यु हुनेका लागि शव व्यवस्थापनका लागि निःशुल्क शव वाहन सुरु गर्‍यौँ। हामीसँग भएका ३० जना नर्स, स्टार्फ नर्स र विद्यालय नर्सिङ कार्यक्रमका साथीहरू सबैलाई परिचालन गरेका थियौँ । त्यतिबेला तीन तहका सरकारका बीचमा समन्वयको संकट भएको महसुस भयो । कोभिड नियन्त्रणका लागि हामी आफैंले खर्च गरेका हौँ । संघ र प्रदेशले बजेट दिएन ।


चार वर्षको अवधिमा हाम्रा वडा कार्यालय भवन बनायौँ । स्वास्थ्य संस्था ४ वटा थिए, त्यसलाई ११ वटामा पुर्‍यायौँ । चार वटा प्राविधिक प्राविधिक विद्यालय थप्यौँ । तीन वटा नमुना विद्यालय निर्माण गर्‍यौँ  । सहरी पूर्वाधार क्षेत्रमा सडक कालोपत्रे गरेका छौँ । ग्रामीण क्षेत्रका सडक ग्राभेल गरेका छौँ । नगरपालिकामा १ अर्ब रुपैयाँको सरकारको स्मार्ट सिटीको परियोजना परेको छ । हामीले बसपार्क निर्माण गरेका छौँ । एक दर्जन पर्यटकीय स्थललाई सौन्दर्यीकरण गरेका छौँ । कानुन क्षेत्रमा ऐन, कानुन र कार्यविधि गरेर २४१ वटा कानुन निर्माण गरेका छौँ । हामी निर्वाचित भएर आउँदा नगरमा खानेपानी अभाव थियो । दमकलबाट खानेपानी दिनुपर्ने अवस्था थियो । हामीले एक घर एक धारा योजना पूरा गरिसक्यौँ । नगरपालिकाभित्र ६ वटा सूचना प्रविधि केन्द्र निर्माण गरेर कर उठाउने ठाउँ सबै स्मार्ट बनाएका छौँ । यस वर्षको बजेटमा हामीले यो अवधिमा पूरा नभएका कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।


शैक्षिक क्षेत्र सुधारका लागि सामुदायिक विद्यालय बस कार्यक्रम राखेका छौँ । उच्चशिक्षालाई हामीले निःशुल्क बनाएका छौँ । स्वास्थ्य क्षेत्रलाई विगतको अनुभवले केही व्यवस्थित बनाउने योजना राखेका छौँ । यस वर्ष शव वाहन खरिद गर्न  बजेट छुट्याएका छौँ । एम्बुलेन्सका लागि भने हामीले नगरपालिकाको गाडीलाई निरन्तरता दिने निर्णय गरेका छौँ । निर्वाचनअघि गरेका कतिपय वाचा पूरा गर्न सकेनौँ । कार्यपालिकाबाट नीतिमा सुधार ल्याउन सकेनौँ । पूर्वाधारको क्षेत्रमा पनि काम गर्न सकिएन ।