close

स्थानीयको तानातानमा स्वंगःगापुखु : ९ सय वर्षअघिको सम्पदा नासिने डर

स्थानीयको तानातानमा स्वंगःगापुखु : ९ सय वर्षअघिको सम्पदा नासिने डर

Trulli
ADVERTISEMENT

भक्तपुर– जंगलझैँ वरिपरि उम्रिएका घाँस । संरक्षणका लागि तारबार । अनि, पोखरीमा छिर्न बनाइएको सानो गेट । यो दृश्य मध्यपुर थिमिस्थित स्वंगुःगापुखु अर्थात् तीन वटा बस्तीले बनाएको पोखरीको हो । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्षयता सम्पदा क्षेत्रमा उल्लेख काम गरिरहँदा उक्त पोखरी भने बेवारिसेझैँ बनिरहेको छ ।

 

वडा नम्बर ६ मा रहेको यो पोखरीले करिब ९ सय वर्ष पुरानो इतिहास बोकेको स्थानीय बूढापाका सुनाउँछन् । त्यसैले पोखरी सबैका लागि चासोको विषय बन्दै आएको छ ।  पोखरी संरक्षणका लागि उपभोक्ता समिति पनि गठन भएको छ । यसको नेतृत्व स्थानीय श्यामकृष्ण चक्रधरले गर्दै आएका छन् । उनी भन्छन्, ‘पोखरी हामी सबैको सम्पदा हो । यसको संरक्षणका लागि सबैले पहल गरिरहेका छौँ ।’ उनका अनुसार ऐतिहासिक महत्त्व बोकेको पोखरी ९ सय वर्ष पहिले थिमि, नगदेश र बोडेका स्थानीय मिलेरै बनाएका थिए । 

 

‘सुरुमा पोखरी मात्रै भएको त्यहाँ २०३२ मा वडा भवन निर्माण गरियो । त्यसपछि माओवादी सशस्त्र गतिविधिका बेला इतिहास भत्काउने गरी भवनमा बम प्रहार भयो,’ उनी थप्छन्, ‘बमबाट पोखरी र भवनमा क्षति पुग्यो । केही बाँकी संरचना पनि २०७२ को भूकम्पले भत्काइदियो । अब बाँकी पोखरी र त्यसमा उम्रेका घाँस मात्रै छन् ।’

 

स्थानीयका अनुसार पोखरीले ऐतिहासिक मात्रै नभई धार्मिक र सांस्कृतिक महत्त्व पनि बोकेको छ । चक्रधरका अनुसार पोखरीको पानी बच्चालाई रुन्चे लाग्दा मात्रै नभई अन्य बिरामीका लागि औषधीको रूपमा समेत प्रयोग गरिन्थ्यो । तर, अब पानी नै छैन, कसरी प्रयोग गर्ने ? ‘पोखरी संरक्षणका लागि हामीले वर्षैपिच्छे सरसफाइ गर्दै आएका छौँ । तर यस बर्ष पानीभएकोले सफा गर्न पाएका छैनौँ । अब चाँडै नै घाँस र झार उखेलेर फाल्नेछौँ,’ उनले भने ।

 

विवादले रोकियो संरक्षण 


पोखरी संरक्षणमा स्थानीय दुई पक्षमा बाँडिएका छन् । एक पक्षले पोखरी मौलिक शैलीमा बन्नुपर्ने माग गरेको छ । दोस्रो पक्ष पोखरीमा वडा भवन बन्नै नदिने अडानमा छ । 


२०३२ मा भएको संरचनाअनुसार नै पोखरीमा वडा भवन बन्ने गरी पुनर्निर्माणको पहल हुँदै आएको छ ।  एक स्थानीयले भने, ‘पोखरीको आफ्नै महत्त्व छ । पोखरीमा भवन बने यसको मौलिकता लोप हुन सक्छ । औषधीको रूपमा प्रयोग गर्दै आएको पानी लिन नपाउने अवस्था आउन सक्छ । त्यसैले हामीले पोखरी बनाउन मात्रै माग गरेका हौँ ।’

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार पोखरी संरक्षणका लागि नगरपालिकाले दुई वर्ष अगाडि नै बजेट विनियोजन गरिसकेको छ । ‘हामीले करिब सवा २ करोड रुपैयाँ भवन र पोखरीका लागि बजेट विनियोजन गरिसकेका छौँ । त्यसका लागि शिलान्यास पनि भइसकेको छ,’ उनले भने, ‘तर स्थानीयको विवादका कारण पुनर्निर्माण हुन सकेन । सकेसम्म विवादलाई मिलाएर पुनर्निर्माण गराउने योजनामा छौँ ।’

 

आफूले देख्दा नै पोखरीमा वडा भवन भएकाले सोही शैलीमा पोखरीमाथि भवन हुने गरी पुनर्निर्माण गर्न लागिएको उनले जानकारी दिए । भवन बनाउँदा पोखरीको स्वरूप नहराउने उनको भनाइ छ ।

 

‘पोखरीको मौलिकता कायम हुने गरी नै वडा भवन निर्माण हुनेछ,’ उनले थपे, ‘पोखरी पुनर्निर्माण हुन नसक्दा वडा कार्यालय भवनसमेत बनाउन सकिएन । भाडामा लिएर साँघुरो भवनबाट सेवा दिन बाध्य छौँ ।’ नगरपालिकाभित्र रहेका २५ मध्ये १५ वटा पोखरीको संरक्षण भइरहेको उनले बताए । यसमध्ये ९ वटा पोखरी पानीले भरिइसकेका छन् । तर, विवादका कारण नगरभित्रका ३ वटा पोखरी संरक्षण हुन नसकेको उनले सुनाए ।