close

ज्वरोका बिरामी बढेपछि रोल्पाका विद्यालय बन्द

ज्वरोका बिरामी बढेपछि रोल्पाका विद्यालय बन्द

Trulli
ADVERTISEMENT

रोल्पा– रोल्पाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् ।  जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो ।  सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले जानकारी दिए । 

 

 विद्यालयमा अध्ययनरत ६० प्रतिशत भन्दा बढी विद्यार्थी र शिक्षक एक्कासि बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको उनले बताए ।  विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र  कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ । शिक्षक जसवीर पुन भाइरल ज्वरोका विरामी बढेपछिे विद्यालय बन्द गरिएको जानकारी दिए । 

 

स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवले भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गरेका छन् । तातोपानी खान, बासी तथा चिसो पदार्थ सेवन नगर्न, चिसोबाट बच्न, अदुवा, बेसार, टिमुर र नून पानीखाने तथा तातोपानीको बाफ लिने जस्ता घरायसी उपचार गर्न उनले सुझाव दिए ।

 

लकडाउनका समयमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिने निर्देशन गरे पनि सरकारी विद्यालयको आवश्यक पूर्वाधार , भौगोलिक विकटता तथा निम्न वर्गिय पृष्ठभूमि भएकाले अनलाइन कक्षाको पहुँचमा रहन नसकेको स्थानीयवासी चित्रवियोग झाँक्री मगरले बताए । 

 

अहिले शैक्षिक सत्र सुरु भएको झण्डै ५/६ महिनापछि मात्र विद्यालय सञ्चालन भएकोमा  फेरि बन्द गर्ने बाध्यता सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले जानकारी दिए । वातावरण सहज भएपछि  विद्यार्थीको शैक्षिकस्तरलाई उकास्न प्रयत्न गर्ने उनको भनाइ छ ।