close

सर्वदलीय बैठक : प्रतिपक्षी एमाले संसद् र संवादबाट  भाग्न खोज्यो 

सर्वदलीय बैठक : प्रतिपक्षी एमाले संसद् र संवादबाट  भाग्न खोज्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय  संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सो दलका नेता केपी शर्मा ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ । 

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाहेक संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी थिए ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुखको केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएपछि यस गतिरोधको अन्त्यका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए । 

 

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नै अनुपस्थित हुनुले सो दल संवाद र वार्ताबाट पन्छिन खोजेको हो कि भन्ने आशंका जन्माएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई बताए । बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई वार्ता, संवाद र सहमतिका लागि पहल गर्न आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए ।

 

प्रतिनिधिसभामा ३० र राष्ट्रिसभामा २७ वटा विधेयक विचाराधीन रहेको अवस्थामा संसद् अवरुद्ध गर्नु उपयुक्त नरहेको बताउँदै प्रवक्ता कार्कीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई निकास दिन संसद्को बैठक अवरुद्ध नगर्न आग्रह गरे ।

 

बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेता महेन्द्र राय यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।