close

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय सरकार 

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले वृद्धावस्थाका बूढाबूढी, विधवा महिला, पछाडि पारिएका समुदायलाई लक्षित गरी सामाजिक भत्ता वितरण गर्दै आएको छ । श्रीमान्–श्रीमती एउटै रथका दुई पांग्रा भन्ने उक्ति अहिले पनि सान्दर्भिक छ, नेपाली समाजमा ।

 

सामाजिक भत्ता पाउने उमेर नहुँदै श्रीमानको मृत्यु भए महिलाले विधवा भत्ता पाउँछन् । तर, श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बाँच्नुपर्ने अवस्थाका पुरुषलाई त्यो भत्ताबाट वञ्चित गरिँदै आएको छ ।


समाजमा श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन केही स्थानीय तहले तिनलाई संरक्षण दिन सामाजिक भत्ताको व्यवस्था गरेका छन् । यही अवस्थालाई मनन गरेर कतिपय स्थानीय तहले एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिन थालेका छन् ।


 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित केही स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमै समावेश गरी एकल पुरुषलाई भत्ता दिन थालेका छन् । 


यद्यपि उक्त भत्ता दिने स्थानीय तह संख्यात्मक हिसाबमा कमै छन्  । स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् । 


समाजमा लैंगिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको पालिकाहरूले जनाएका छन् । हाल एकल पुरुषलाई भत्ता दिने पालिकामा बागमती गाउँपालिका, ललितपुर, फुङलिङ नगरपालिका, ताप्लेजुङ, बौदीकाली गाउँपालिका, नवलपुर, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक रहेका छन् ।


यस्तै, अपिहिमाल गाउँपालिका, दार्चुला, छथर जोरपाटी गाउँपालिका, धनकुटा, गण्डकी गाउँपालिका, गोरखा, छायानाथ रारा नगरपालिका मुगु, थलारा गाउँपालिका, बझाङ, डुंगेश्वर गाउँपालिका, दैलेख, झापा गाउँपालिका झापा रहेका छन् ।


यीमध्ये बागमतीले चार वर्षदेखि भत्ता दिँदै आएको छ भने भत्ता पनि बढाइएको छ । फुङलिङले पनि ३ वर्षदेखि ६० वर्ष पूरा भएकालाई भत्ता दिँदै आएको छ । 
बौदीकालीले पनि ६० वर्ष उमेर पूरा भएकालाई मासिक २ हजार रुपैयाँ भत्ता चालू आर्थिक वर्षदेखि दिन सुरु गरेको छ । हेलम्बुले सबै उमेर समूहका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । अपिहिमालले मासिक ५ सय रुपैयाँका दरले एकल पुरुष भत्ता प्रदान गर्दै आएको छ ।


यस्तै, छथर जोरपाटीले वार्षिक एकमुष्ट ५ हजार, छायानाथ रारा नगरपालिकाले पनि एकल पुरुषलाई सामाजिक भत्ता वितरण गर्न थालेको छ । यस्तै, थलारा गाउँपालिकाले पनि एकल पुरुषलाई मासिक ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । यसैगरी डुंगेश्वर गाउँपालिकाले ५ सय, झापा गाउँपालिकाले मासिक ५ सय रुपैयाँका दरले भत्ता दिँदै आएको छ । 

 

एकल पुरुषलाई प्रदान गरिने भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएपछि एउटा पालिकाले सुरु गरेको कार्यक्रम अन्य पालिकाले पनि अनुसरण गर्न थालेको गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल बताउँछन् ।


 
संघीय सरकारले भने ७० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिक, ६० वर्ष पूरा भएका दलित र ६० वर्ष पूरा भएका कर्णाली क्षेत्रका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । 


त्यस्तै, ५ वर्ष उमेर पूरा नभएका कर्णाली क्षेत्रका बालबालिका र दलित बालबालिका, विधवा महिला र अपांगता भएका व्यक्तिलाई मासिक रूपमा भत्ता दिइँदै आएको छ । संघीय सरकारबाट अन्य प्रकारका भत्ता लिँदै आएका एकल पुरुषलाई गाउँपालिकाले प्रदान गर्ने एकल पुरुष भत्ता कार्यक्रममा भने समावेश गरिएको छैन ।