close

संघीयता कार्यान्वयनमा केन्द्रीकृत मानसिकता बाधक 

संघीयता कार्यान्वयनमा केन्द्रीकृत मानसिकता बाधक 

Trulli
ADVERTISEMENT

विदुरकुमार कार्की
नगरप्रमुख, बर्दिवास नगरपालिका, महोत्तरी

 

जनप्रतिनिधिको रूपमा नगरको जिम्मा लिएपछि नागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा छौँ । तर, कोरोना महामारी सुरु भएपछि भने यसमा ठेस लागेको छ । कोरोना महामारी के हो भनेर हामी आफैंले बुझ्न  मुस्किल परेको थियो । तर, नगरबासीलाई आफूले जानेजतिका सूचनालाई नगरपालिकाको संयन्त्र प्रयोग गरेर प्रचार–प्रसार गर्‍यौँ  ।

 

सबैभन्दा ठूलो चुनौती बाहिरबाट आएका मानिसको व्यवस्थापन थियो । छिमेकी भारत र तेस्रो मुलुकबाट आउने संख्या धेरै थियो । क्वारेन्टाइन बनायौँ । संक्रमितलाई राख्ने आइसोलेसन बनायौँ । पिसिआर मेसिन खरिद गरेर निरन्तर परीक्षण गरिरहेका छौँ । दोस्रो लहरमा पनि हामीले संघको निर्देशनअनुसार संक्रमित संख्या ५ सय पुगेपछि बन्द गर्ने भनियो । तर, १५० जना पुगेपछि बन्द गर्‍यौँ  । होम आइसोलेसनमा बसेकालाई निगरानीमा राख्यौँ । घरघरमै के अवस्था छ भने संक्रमितलाई ‘डोर टु डोर’ सेवा प्रदान गर्‍यौँ  । दोस्रो लहरमा अक्सिजन अभाव भयो । हामीले स्थानीय व्यापारीसँग सल्लाह गरेर सुनसरी, मोरङसम्मै पुगेर अक्सिजन सिलिन्डर ल्यायौँ । नगरभित्र १५ बेडको आफ्नै अस्पताल बनायौँ । १५ बेडको अस्पताल क्षेत्रीय अस्पतालजस्तो भयो । बाहिरबाट पनि अक्सिजन अभाव भएर संक्रमित यहाँ आए ।

 

हामीले पहिलो लहरमा विपन्नलाई ४४ लाख रुपैयाँको खाद्यान्न वितरण गरेका थियौँ । त्यसबेला १२ लाख प्रदेश सरकारमार्फत आएको थियो । त्यसयता संघ र प्रदेश सरकारबाट केही पनि सहयोग भएन । स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइने भने पनि त्यसको दायित्व पनि स्थानीय तहमै छाडियो । हामीले ल्याब सञ्चालन गर्नसमेत आफ्नै खर्चमा जनशक्ति नियुक्त गरेर काम गर्‍यौँ  । संघको बजेटले अहिलेसम्म संघीयता कार्यान्वयनलाई ध्यान दिन सकेको छैन ।

 

नेतृत्वले नबुझेको होइन तर केन्द्रीकृत मानसिकतालाई नछाडेको देखियो । स्थानीय सरकारलाई टिकाउने खाले बजेट छैन । प्रदेशले दिने अनुदानमा पनि बदमासी भएको देखिन्छ । यसका बाबजुद हामीले अहिलेसम्मको अवधिमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीका क्षेत्रमा ठूलो काम गरेका छौँ । विद्यार्थी र शिक्षकको अनुपात नमिलेका कारण पढाउन समस्या थियो । हामीले ६२ जना शिक्षक आफ्नै स्रोतमा राखेर काम गराएका छौँ । शुद्ध खानेपानीको व्यवस्था, ल्याब सञ्चालन, विद्यालयमा शौचालय, स्यानिटरी प्याडसहितको व्यवस्था गरेका छौँ । स्वास्थ्य क्षेत्रमा प्रायः सबै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्र स्थापना गरिसकिएको छ । 


खानेपानी परियोजनाको व्यवस्थापन गरेका छौँ । नगरभित्र घर नभएका विपन्न परिवारलाई ४ कोठाको घर बनाएर हस्तान्तरण गर्ने क्रममा १ सय परिवारलाई स्थापित गरिसकेका छौँ । यो वर्ष २० घर थप गर्ने योजना छ ।


यो वर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा छ । पुराना काम धेरैजसो नसकिएकाले तिनलाई यो वर्ष निरन्तरता दिन्छौँ । चुरे संरक्षण, हरित अभियानलगायत कार्यक्रम राखेका छौँ । यो अवधिमा कतिपय काम चाहेर पनि गर्न नसकेको भने सत्य हो । यसका लागि संघीय सरकारको बजेट र कोभिड महामारी बाधक बनेका छन् । हामीले धेरै ठाउँमा पुल निर्माण गर्नुपर्ने थियो, त्यो सकेनौ । अन्य क्षेत्रमा पनि सोचेजस्तो सफलता हासिल गर्न सकेका छैनौँ ।