close

कांग्रेस अधिवेशन : दोलखामा सभापतिका लागि ४ को प्रतिस्पर्धा

कांग्रेस अधिवेशन : दोलखामा सभापतिका लागि ४ को प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

चरीकोट– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन शुक्रबारदेखि चरिकोटमा सुरु भएको छ । कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो । 

 

दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि कांग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै जिल्ला अधिवेशन रोकिएको थियो । हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गरी सक्ने पुनः सर्कुलर भएपछि दोलखा कांग्रेसले क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन सुरु गरेको हो । 

 

सभापतिमा चारको उम्मेदवारी 

 

कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा नयाँ नेतृत्व लिनका लागि चारजनाले उम्मेदवारी घोषण गरेका छन् । कांग्रेसको केन्द्रमा रहेको समूहको प्रत्यक्ष प्रभाव जिल्लामा समेत देखिएको छ । समूह नै निर्माण गरेर पार्टी सभापतिदेखि पदाधिकारी र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरिएको छ । संस्थापन पक्षका तर्फबाट हाल पार्टी सभापति रहेका रुद्रबहादुर खड्का पुनः दोस्रो कार्यकालका लागि सभापति पदमा चुनाव लड्दै छन् भने केन्द्रमा सिटौला समूह नजिक मानिने समूहबाट तारा खड्का चुनावी मैदानमा छिन् । 

 

त्यस्तै वर्मा लामा र केशवराज चौलागाईंले समेत सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषण गरेका चारै समूहले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन् । सभापतिमा चारजना आकाङ्क्षी रहेको हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पुर्‍याउन नसकिने भएपछि दोस्रो तहको निर्वाचन निश्चित जस्तै भएको छ । केन्द्रीय नेता तथा भेग भूगोलका आधारमा नेताहरूले संस्थापन पक्षका रुद्र खड्कालाई समर्थन रहेको हुँदा अन्य नेताको तुलनामा पुनः सभापतिमा रुद्र खड्कालाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । 

 

क्षेत्रीय र स्थानीय अधिवेशन सम्पन्न 

 

नेपाली कांग्रेस दोलखाले दुई निर्वाचन क्षेत्र र नौ स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । क्षेत्र नं १ मा सर्वसम्मत रुपमा शुक्रराज तामाङ सभापति भएका छन् भने उपसभापतिमा सुवास तामा निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ मा बुधबार भएको निर्वाचनमा चित्र दहाल सभापतिमा र विकास खड्का उपसभापतिमा निर्वाचित भएका छन् ।