close

वनलाई आएन संघीयता, प्रदेश मातहतका डिभिजन वन खारेज गरेर स्थानीय तहमा राख्न माग

वनलाई आएन संघीयता, प्रदेश मातहतका डिभिजन वन खारेज गरेर स्थानीय तहमा राख्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं– सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले प्रदेश मातहत रहेका डिभिजन र सब–डिभिजन वन कार्यालय खारेज गरेर स्थानीय तहमा समायोजन गर्न माग गरेको छ । 


मुलुक संघीयतामा गए पनि वनका संरचना प्रदेश मातहत राखेर समुदायको अधिकार सदरमुकाममै केन्द्रित गरेको भन्दै फेकोफनले ती संरचना स्थानीय तह मातहत भए समुदाय स्तरमा वन संरक्षण, सम्वद्र्धन र व्यवस्थापनमा सघाउ पुग्ने ठहर गरेको छ । 


‘सामुदायिक वनमा काठ, दाउरा संकलनका लागि अनुमति लिन पनि डिभिजन वन कार्यालय धाउनुपर्छ । हामीले यो काम स्थानीय तहका निकायबाट होस् भन्न खोजेका हौँ,’ महासंघ अध्यक्ष भारती पाठकले भनिन्, ‘प्रदेश मातहत डिभिजन, सब–डिभिजन वन कार्यालय राखेर अधिकार केन्द्रित गरिएको छ । ती निकाय खारेज गरेर स्थानीय तह मातहत नयाँ इकाइ खडा गनुपर्छ । नाममा हाम्रो आपत्ति छैन ।’

 

मुलुक संघीयतामा गएसँगै सरकारले तत्कालीन जिल्ला वन कार्यालयलाई डिभिजन र सेक्टर वनलाई सब–डिभिजनमा रुपान्तरण गरिसकेको छ । हाल ७७ जिल्लामा ८४ वटा डिभिजन र ५ सय २८ सब–डिभिजन छन् ।

 

संविधानअनुसार वन तीन वटै सरकारको साझा अधिकार सूचीमा पर्छ । संविधानाको अनुसूची ९ को बुँदा ७ मा वनजंगल, वन्यजन्तु र जललगायतको उपयोगमा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार हुने उल्लेख छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ उपदफा ४ को बुँदा ३ मा ‘सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी संघ तथा प्रदेशको अधीनमा रही’ वनमा गाउँपालिका, नगरपालिकाको काम, कर्तव्य, अधिकारमा साझा अधिकार हुने उल्लेख छ । 


तर, सरकारले भने वनलाई स्थानीय सरकारभन्दा माथि राख्ने गरी सदरमुकाममा कार्यालय खोलेपछि त्यसको विरोध भएको हो । डिभिजन वन जिल्ला सदरमुकाममा छन् भने सब–डिभिजन स्थानीय तहभन्दा माथि राखिएको छ ।


राष्ट्रिय वनको रेखदेख प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि सामुदायिक वनको अनुगमन, निरीक्षण स्थानीय तहले गर्न पाउनुपर्ने माग छ ।  पाठकले भनिन्, ‘कानुनले दिएको अधिकारसमेत उपयोग गर्न नदिने गरी फेरि सामुदायिक वनको नियमन, स्वीकृति र खारेजी डिभिजन वनमा पुर्‍याइएको छ ।’


वनको नीति तथा संगठन संरचना उपसमितिले महानगर र उपमहानगरमा उपसचिव, नगरपालिकामा अधिकृत स्तरका कर्मचारी र गाउँपालिकामा वन तथा वातावरण शाखा रेञ्जर तहका कर्मचारीको नेतृत्वमा वन, वातावरण तथा भू–संरक्षण शाखाको प्रस्ताव गरेको थियो । तर, व्यवहारमा लागू भएन । अहिले प्रदेशको उद्योग, वाणिज्य तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र रहेकामा डिभिजन वन र सब–डिभिजन पनि प्रदेशअन्तर्गत राखिएको छ । 


स्थानीय तह शासन विज्ञ कृष्णप्रसाद सापकोटा संविधानले संघ र प्रदेशलाई अधिकार प्रत्यायोजन गरेबमोजिम स्थानीय सरकारले वनको उपयोग गर्न पाउनुपर्ने बताउँछन् । उनल भने, ‘सदरमुकाममा कार्यालय खोलेर हुँदैन । जनताका लागि हो भने गाउँघरमै हुनुपर्छ ।’


सामुदायिक वन उपभोक्ता महासंघका अनुसार देशभर २२ हजार ६२२ सामुदायिक वन र २२ हजार ६२२ वटै उपभोक्ता समूह छन् । ३३ लाख ३६ हजार ३७० हेक्टर क्षेत्रमा २९ लाख ७ हजार ८७१ घरधुरी संलग्न रहेको महासंघको तथ्यांक छ । मुलुकको कुल भू–भागको ४४ दशमलव ७४ प्रतिशत (६२ लाख ३० हजार ५ सय ३७ हेक्टर क्षेत्रफल) वनले ओगटेको छ ।