close

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं– धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच दिन शेयर कारोबार भए । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय गर्‍यो। 

 

झण्डै तीन हजार ३०० बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ६०० मा ओर्लेको छ । पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ । यस्तै नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि शेयर बजारमा केही न केही प्रभाव परेको देखिन्छ । 

 

एकाध मानिसले ठूलो परिमाणमा शेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ । यस्तै लगानीकर्ताका केही सङ्घ तथा सङ्गठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ । साताभर कूल २३३ कम्पनीको शेयर कारोबार भयो । साताभर कूल पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता शेयर रु २६ अर्ब नौ करोड ५१ लाख ६३ हजार ६५४ मूल्यमा खरिद बिक्री भए । 

 

शेयर कारोबार हुने साताको पहिलो आइतबार नेप्से परिसूचकमा उच्च अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मा खरिद बिक्री भए । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण  ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा ओर्लियो । 

 

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको शेयर ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही  ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको खरिद बिक्री भयो । सोमबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा सीमित भयो । 

 

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर ५ अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण  ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको थियो । त्यसदिन १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही  १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो । मङ्गलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो । त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो । 

 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लियो । कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुग्यो । त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । 

 

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको खरिद बिक्री भयो । बुधबार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुग्यो । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन । कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर ५ अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण  ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुग्यो । 

 

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अङ्कको गिरावट आयो । नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर ३  अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर  ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लियो ।