काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भयावह


  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहोर  नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो ।

 

१६ वर्ष हुँदा पनि त्यहाँ फोहोर फ्याँक्ने काम जारी छ । सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक टनसम्म फोहोर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीनरूपमा अहिले त्यहाँ फोहोर विसर्जन बाध्यात्मक छ ।

 

गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासीबाट आन्दोलन गरी फोहोर  रोक्ने काम भयो तर आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन । अहिलेको टड्कारो समस्या यही हो । नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा स्थान तय भए पनि त्यहाँ निर्माणको काम जारी छ । त्यसैले सिसडोलमा अहिले पनि समस्या ज्यूँका त्यूँ छ ।

 

सिसडोलका स्थानीय राममणि घिमिरेका अनुसार त्यहाँ दुर्गन्धले बसिसाध्य हुन्न । कतिपय अवस्थामा विष्फोटक पदार्थ विष्फोट भएको उदाहरण रहेको र बमसँग बस्नुपरेको महसुस हुने भन्दै दुःखद् अनुभूति उनले सुनाए । ‘सिसडोलका बासिन्दालाई फोहोरले असर गर्दैन, पैसा दिएपछि समाधान भयो भन्ने सोच कहाँसम्म ठिक हो ?’, उनले भने, ‘समाधानका लागि खै राज्यको ध्यान ।’

 

उपत्यकाको काठमाडौँ र ललितपुर महानगपालिकासहित १८ पालिकाको फोहोर  दैनिकरूपमा सिसडोलमा पुग्छ । दीर्घकालीन व्यवस्थापनको राम्रो उपाय १६ वर्षसम्म नबनाइएकामा आजित भएको सुनाउँछन् सिसडोलवासी । काठमाडौँमा वास मिडिया फोरमद्वारा उपत्यकाको फोहोर व्यवस्थापनका सवालमा  आयोजित  अन्तक्र्रियामा स्थानीयवासीले समस्या लिएर सरकारी निकाय धाउँदा–धाउँदा वाक्क भएको दुःखेसो सुनाए ।

 

सिसडोलमा फोहोर विसर्जनमा समस्या रहेको काठमाडौँ महानगरपालिकाको समेत स्वीकारोक्ति छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल फोहोर व्यवस्थापनमा विगतदेखि नै त्रुटि हुँदै आएको स्वीकार गर्दै भन्छन्, ‘सबै लाग्ने हो भने समाधान गर्न नसिकने होइन, सम्भव छ ।’

 

सिसडोलवासी भने जनप्रतिनिधिबाट फोहोरको समस्याको दीर्घकालीन समाधान हुनेमा विश्वस्त छैनन् । उनीहरु अधिकारसम्पन्न प्राधिकरण बन्नुपर्नेमा जोड दिन थालका छन् । घिमिरेले पैसाले मात्रै समस्याको समाधान हुन्छ भनेर नसोच्न चेतावनीसमेत दिए । विगतमा सम्झौता गर्दा पनि पहिलो शर्त नै फोहोर व्यवस्थापन थियो । त्यसपछि मात्रै अन्य आर्थिक तथा विकासका काम राखिएको उनले स्मरण गरे । 

 

काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ पनि उपत्यकाको फोहोर व्यवस्थापन भयावह अवस्थामा पुगेको सुनाउछन् । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहोर  व्यवस्थापनका लागि आवश्यक काम हुँदैछ । दुई वर्षअघि नै बन्चरेडाँडामा फोहोर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म निर्माणको काम सकिएको छैन । त्यसकारण पनि सिसडोलमा समस्या थपिँदो छ ।

 

उपत्यकाको फोहोरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । त्यस्ता फोहोरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके पनि धेरै हदसम्म समस्या कम हुने श्रेष्ठ बताउँछन् । ‘त्यो चेतना मानिसमा विकास हुनै सकेन, यसको पहिलो व्यवस्थापन भनेको स्रोतबाटै हुनुपर्छ, त्यसको विकल्पै छैन’, श्रेष्ठले थपे ।

 

सिसडोलमा ४३२ रोपनी जग्गामा फोहोर  फालिँदै आएको थियो । दुई वर्षका लागि भनेर विसं २०६२ मा जाइकाको सहयोगमा कार्यक्रम थालिएको थियो । १६ वर्षदेखि नियमित फोहर लैजाँदा त्यो क्षेत्र विस्तारै भरिँदै गयो र अहिले विकराल स्थितिमा पुगेको हो ।

 

बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि भने एक हजार ७९२ रोपनी क्षेत्र छुट्याइएको छ । यस्ता कार्यक्रम बनाउँदा जनसङ्ख्याको वृद्धिसँगै भविष्यमा आउनसक्ने चुनौती आँकलन गरेर दीर्घकालीन रणनीति आवश्यक हुन्छ । विगतमा त्यस्तो योजना नबन्दा सिसडोल समस्याग्रस्त बनेको हो ।

 

सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ पनि  सवल र दुर्वल पक्ष विष्लेषण गरेर जनसङ्ख्याको चापसँगै फोहोर व्यवस्थापनको योजना आवश्यक रहेको औँल्याउछन् ।  उनी पनि कौसी, बरण्डा खेती गरेर कुहिने फोहर व्यवस्थापन गर्ने र पुनः प्रयोग गर्न मिल्ने फोहरलाई त्यहीअनुसार प्रयोग गर्दा केही हदसम्म समस्या कम हुने सुझाव दिन्छन् । उनी भन्छन्, ‘फोहोर व्यवस्थापनमा हामी सबै भन्ने नाराका साथ लाग्नुपर्छ, सम्भव छ ।’


 
सरसफाइको क्षेत्रका काम गर्दै आएको संस्था लुमन्तीका कार्यकारी निर्देशक  लजना मानन्धर कौसीमा मात्रै हुने व्यवस्थापनले फोहोरको दीर्घकालीन समाधान नहुने जिकिर गर्छन् । बदलिँदो सहरीकरणअनुसार योजना निर्माण गरी दिगो समाधान नै अहिलेको आवश्यकता भएको उनले बताए । 

 

महानगरपालिकाका प्रवक्ता डङ्गोल उपत्यका फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना नबनेकै कारण अहिले जटिलता आएको बताउँछन् । ‘दुई वर्षका लागि भनेर लिएको सिसडोल आज १५ वर्ष बितिसक्यो अझै त्यहाँ फोहोर फालिँदै छ, योजनाबद्धरूपमा फोहोर फाल्ने गरी बनेको क्षेत्र सिसडोल होइन, त्यो विगतको गल्तीलाई सबैले मनन गरेर मिलेर समस्या समाधान गर्नुपर्छ’, डङ्गोलले भने । पछिल्लो समयमा समस्या पर्छ, सम्झौता गरिन्छ, फेरि समस्या आउँछ अनि सम्झौता गरिन्छ यसैगरी फोहर व्यवस्थापनको काम भइरहेको उनले सुनाए  । यसरी काम गरेर कति समय थेप्ने गम्भीर चिन्ताको विषय हो ।

 

दुई दिनमात्रै काठमाडौँको फोहर उठेन भने मुलुकलाई नै प्रभावित बनाएको हुन्छ । बागमती सफाई अभियानका एक अभियानकर्मी तथा पूर्वसचिव किशोर थापा सकारात्मक सोचका साथ काम गर्न सके फोहोर व्यवस्थापन सम्भव भएको बताउँछन् । विदेशको उदाहरण लिनै नपर्ने बताउँदै उनले भने, ‘हेटौँडाले कम्पोष्ट मल बनाइरहेको छ, वालिङले फोहर किनिरहेको छ, दाङ र धनकुटामा पार्क नै बनेको छ भने काठमाडौँमा किन व्यवस्थापन गर्न सकिँदैन ।’ उनले  नागरिकमा फोहोर छुट्याउनुपर्छ, घरमै व्यवस्थापन गर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा समस्या परेको बताए ।