close

हाँसपालनले लाख भित्र्याउँदै सञ्जीव

हाँसपालनले लाख भित्र्याउँदै सञ्जीव

Trulli
ADVERTISEMENT

सप्तरी– कुनै बेला वैदेशिक रोजगारीमा जान पासपोर्ट बनाएका सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ खुरहुरिया टोलका तन्नेरी सञ्जीवकुमार यादव अहिले गाउँमै हाँस र माछापालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

 

केही महिनाअघि जनकपुरस्थित ह्याचरीबाट ५ सय हाँसका चल्ला ल्याएर व्यावसायिक हाँसपालन थालेका सञ्जीव अहिले ती सबै हुर्किइसकेको बताउँछन् । दैनिक आम्दानी अन्डा मात्र बेचेर ५ देखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए । 

 

२ वर्षसम्म हेल्थ असिस्टेन्ट अध्ययन गरे पनि साथीहरूको सल्लाहमा विदेश जाने चक्करमा उनले पढाइ बीचमै छाडे । तर, गाउँकै ७ जना युवा विचल्लीमा परी मलेसियाबाट रित्तो हात फर्केको देखेपछि विदेश जाने र बढी कमाउने मोह भंग भएको उनको भनाइ छ । ‘बुबा महिनारायणको सल्लाहअनुसार आफ्नै रोजगारी सुरु गरेको छु,’ उनले भने, ‘डेढ लाख जतिको लगानीमा करिब ४ लाख रुपैयाँ आम्दानी भइसकेको छ । अब जान्नँ विदेश ।’

 

पोखरी व्यवस्था गरेपछि हाँस तथा माछापालनका लागि बेलाबेला चारो दिनबाहेक खासै जनशक्ति र पुँजीको आवश्यकता नहुने भएकाले एकल प्रयासमै व्यवसाय राम्ररी चलिरहेको उनले सुनाए । 

 

२५ वर्षीय लक्का जवान सञ्जीवले १ कठ्ठाको पोखरीमा २ सयसम्म हाँस पाल्न सकिने भएकाले आफनै स्वामित्वको ८ कठ्ठामा पोखरीकै छेउमा काठ मिलसमेत स्थापना गरेका छन् । 

 

मिलको आम्दानीसमेत हाँसपालनमै लगाउँदै आएका यादवले ५ हजारसम्म हाँसको संख्या पु¥याउने योजना रहेको बताए । काठ मिल र हाँसपालनसँगै सञ्जीवले सोही पोखरीमा माछापालनसमेत सुरु गरेका छन् । सिल्भरकार्प, कोमनकार्प, मुङरीलगायत जातका माछा हाँससँगै पालेका कारण फस्टाएको उनको अनुभव छ ।हाँसको दानाका लागि गहुँ, चामल र घोङगी दिने गरेको बताउँदै सञ्जीवले एउटा छुट्टै पोखरीमा घोङ्गीपालनसमेत सुरु गरेका छन् ।

 

‘खासै प्राविधिक सरसल्लाह जरुरी परेको छैन । आफ्नै अनुभव र बुबाको सरसल्लाहमा व्यवसाय राम्रै चलेको छ’, उनले भने, ‘पालेका हाँस एकमुष्ठ बिक्ने हुँदा निर्धक्क लगानी गरेर व्यवसायबाट सन्तुष्टि मिलेको छ ।’


अहिले युवा जमात रोजगारीका लागि विदेशिने लहर चलेको देख्दा सञ्जीवलाई खिन्नता महसुस हुने गरेको छ । विदेशमा गएर ठगिनु, ज्यानै जोखिममा पारेर काम गर्नु र दुव्र्यवहारसमेत भोग्नुभन्दा आफ्नै माटोमा पसिना बगाएर भनेजति आम्दानी लिन सकिने उनको भनाइ छ ।