close

संघको रोजाइमा कहिल्यै परेनौँ

संघको रोजाइमा कहिल्यै परेनौँ

Trulli
ADVERTISEMENT

इवन  राई, नगरप्रमुख
हलेसी तुवाचुङ नगरपालिका, खोटाङ

 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई संघीयता कार्यान्वयनको पहिलो थलो स्थानीय तह संघीय सरकारको नजरमा नपरेको बताउँछन् । राईसँग जनप्रतिनिधिका रूपमा चार वर्षसम्म काम गर्दाको अनुभव, कोरोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेका प्रयास, कार्यकालको अन्तिम वर्षमा पालिकाले तय गरेका प्राथमिकताबारे गरिएको कुराकानी :

 

जनप्रतिनिधिका रूपमा चार वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो ? 

 

जनप्रतिनिधिको रूपमा चार वर्षसम्मको काम सकारात्मक रहेको मान्छु । नागरिकको ठूलो साथ, सहयोग पाएका छौँ । विभिन्न समस्या समाधान गर्दै नगरपालिकालाई गति दिन सफल भएका छौँ । 

 

यो अवधिमा झेल्नुपरेका कठिनाइ के–के हुन् ?


 
हामीसँग ठूलो चुनौतीको पहाड थियो । त्यसको समाधान गर्दै आइरहेका छौँ । पहिलो पटक संघीयतामा रहेकाले स्रोत–साधनको समस्या, आवश्यक जनशक्ति, भौतिक पूर्वाधार अभावले चुनौती बढाएका थिए । त्यो घटाउन हामी लागिपरेका छौँ । 

 

कोरोना महामारीका दुई वटा लहर नियन्त्रणमा पालिकाले के–कस्ता प्रयास गर्‍यो  ? सम्भावित तेस्रो लहरबाट पालिकाबासीलाई जोगाउने तयारी के छ ? 

 

हामी कोभिडको प्रभावलाई निरन्तर रोकथाम गरी मानवीय, भौतिक हिसाबले क्षति न्यूनीकरण गर्न लागिपरेका छौँ । दुई वर्ष कोभिड रोकथाम तथा नियन्त्रण गर्न अघि सारेका नियमलाई नागरिक समाज, नागरिकको साथ, सहयोगका कारण सफल भएका छौँ । विभिन्न समय औषधोपचार, अध्ययन, रोजगारी, व्यवसायका सिलसिलामा नगरपालिकाभन्दा बाहिर रहेका नागरिकलाई उद्दार गर्‍यौँ  । सामान्य ढंगले घरमा रहने व्यवस्था गर्‍यौँ  । 

 

कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । यो वर्ष पालिकाले के–कस्ता प्राथमिकता तय गरेको छ ? 

 

हामीले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्दै आएका छौँ । अल्पकालीन भनेको तत्कालीन जनताको माग, मुद्दा समाधान नगरी नहुने समस्या समाधान गर्दै आयौँ । तीन वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढायौँ । मध्यमकालीनअन्तर्गत सडक, पुल–पुलेसा बनाएका छौँ । दीर्घकालीन योजनामा  धार्मिक, पर्यटकीय, सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएका क्षेत्रको विकास र प्रवद्र्धन गर्ने योजना बनाएर अघि बढेका छौँ । दिगो विकास गर्ने, धर्म, संस्कृतिको संरक्षण गर्दै आयआर्जनमा वृद्धि गर्ने गरी काम गरिरहेका छौँ । 

 

अन्त्यमा, संघ तथा प्रदेश सरकारसँगको समन्वयको पाटो कस्तो रह्यो ? 


मेरो अनुभवमा सुखद रहेन । यो संघीयतालाई सफल बनाउन, संघीयताप्रति नागरिकको भरोसा बढाउन समन्वय, सहकार्य र सहअस्तित्व हुन जरुरी थियो । तर, तीन तहको सरकार तीन फरक बाटो हिँड्दा समस्या भयो । नागरिकको प्राथमिकतालाई केन्द्रमा राखेर हामी जसरी एक्लै बढ्यौँ, त्यसमा कहिल्यै सहयोग मिलेन ।