close

प्रदेश १ का १४ जिल्लामा खोलियो यात्रु सहायता कक्ष

प्रदेश १ का १४ जिल्लामा खोलियो यात्रु सहायता कक्ष

Trulli
ADVERTISEMENT

विराटनगर- प्रदेश १ का १४ जिल्लामा चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ६६औँ प्रहरी दिवस अवसर पारेर प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले आइतबार यात्रु सहायता कक्ष उद्घाटन गरे । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा बनाएको यात्रु सहायता कक्षको उद्घाटन डिआइजी बिसीले गरेका हुन् ।  उनले चाडपर्वलाई लक्षित गरी प्रदेश १ का १४ जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जानकारी दिए ।

 

‘यात्रुलाई सहज सुविधा दिन १४ जिल्लामा एकैसाथ प्रहरी दिवस अवसर पारेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ,’ डिआइजी बिसीले भने, ‘यात्रु सहायता कक्षमा प्रहरी रहन्छ । यात्रुलाई परेको समस्या समाधान गरिनेछ ।’ 

 

ट्राफिक प्रहरीले सडक राजदूतको हिसाबले काम गरेको जानकारी दिँदै डिआइजी बिसीले ट्राफिक व्यवस्थापनमा प्रहरीले अग्र भागमा रहेर काम गर्दै आएको बताए ।  ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि एकल प्रयासले मात्र सम्झव नहुने भएकाले सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।


 
मोरङको ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार विराटनगर बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । 


दसैँ, तिहार र छठ पर्वलाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, ठगिने सम्भावनालगायतलाई ध्यानमा राखेर यात्रु सहायता कक्ष स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक खड्काले बताए । 

 

‘दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्नेजस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परे सहायता गर्न कक्षले सघाउनेछ ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुई जना प्रहरी रहेर यात्रुलाई सेवा दिने उनले बताए ।

 

उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडादर, सवारी छुट्ने समयजस्ता विषयबारे यात्रुले सहायता कक्षमा सोध्न सक्नेछन् । कार्यक्रममा प्रदेश १ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी वासुदेव खतिवडा, जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमला, नेपाल यातायत व्यवसायी महासंघ मोरङका संयोजक राजन कँडेलललायले बोलेका थिए ।

 

सोही अवसरमा चार दशक देखि ट्राफिक नियम पालन गरी सवारी चलाउने तीन जना चालकलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा धर्मकुमार अधिकारी, दीपक बुर्जा मगर र अम्बिका अधिकारी रहेका छन् ।