close

पहिरो पीडितलाई गाउँपालिकाको ५० हजार

पहिरो पीडितलाई गाउँपालिकाको ५० हजार

Trulli
ADVERTISEMENT


पोखरा-  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पहिरो पीडितलाई राहत वितरण गरेको छ । प्रदेश सरकार र गाउँपालिकाले छुट्टाछुट्टै राहत दिएको हो ।


माछापुच्छ्रे–८ खोरामुखमा गत २ साउनमा झरेको पहिरोले ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही १ लाखका दरले नगद दिइएको हो ।


गाउँपालिकाको ५० हजार र प्रदेश सरकारको ५० हजार गरी ३ जना मृतकका परिवारलाई ३ लाख नगद हस्तान्तरण गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुुर चुमान र गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले राहत पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।


खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिरामा पुरिएर नातिहरु १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा नातिनी १६ वर्षीया रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।


यो वर्षको बर्खायाममा प्रदेशले निकै धेरै धनजनको क्षति ब्यहोरेको छ । यस वर्ष पहिरोमा परी कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रदेशभरी १ सय २० भन्दा बढीको मृत्यु भएको छ । डेढसय भन्दा बढी परिवार विस्थापित भएका छन् ।


मृतकका परिवारलाई प्रदेश सरकारले जनही ५० हजार, संघ सरकारले १ लाख र स्थानीय तहहरुले पनि आफ्नै निर्णय अनुसार राहत दिएका छन् । प्रदेश सरकारले विस्थापित परिवारलाई पुनस्थापनाका लागि स्थानीय तहको सहयोगमा घर बनाइदिने घोषणा गरेको छ ।