close

संरक्षण अभावले नासिँदै ऐतिहासिक कनकपट्टी दरबार 

संरक्षण अभावले नासिँदै ऐतिहासिक कनकपट्टी दरबार 

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक प्राचीन कनकपट्टी दरबार संरक्षण अभावका कारण नासिने अवस्थामा पुगेको छ । राज्यको उदासिनता र पुरातत्त्व विभागले संरक्षणमा चासो नदिँदा ऐतिहासिक धरोहर खण्डहर अवस्थामा पुगेको हो । कनकपट्टीस्थित प्राचीन दरबार सप्तरी सदरमुकाम राजविराजदेखि करिब १६ किलोमिटर उत्तर चुरे जंगलमा अवस्थित छ । 


उक्त दरबारको अवशेष २०५४ मा स्थानीय खोलामा आएको बाढीले कटान गरेको थियो । करिब ४ बिघा क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रको पर्खालमा कलात्मक बुट्टा कुँदिएको अहिले पनि देखिन्छ । 


दरबारको विषयमा वास्तविकता बुझ्न २०६१ मा पुरातत्त्व विभागबाट टोलीसमेत आएको थियो । उत्खननका क्रममा कलात्मक झ्यालढोकासहितको कोठा तथा बुद्धका मूर्तिसमेत फेला परेको इतिहासविद् प्राध्यापक हरिकान्तलाल दास बताउँछन् ।


ती मूर्ति टोलीले लगेको ७ वर्ष भइसक्दा पनि फर्केर नआएको र संरक्षणका लागि समेत कुनै पहल नभएको दासको गुनासो छ । अनुसन्धानकर्तासमेत रहेका प्राध्यापक दासले भने, ‘काठमाडौंको टोली आएर उत्खनन गरेपछि खुसी लागेको थियो । तर, ७ वर्षभन्दा बढी भइसक्यो, कोही फर्केर आएनन् ।’

पक्की इँटा तथा पत्थर प्रयोग भएको ऐतिहासिक दरबारको गर्भगृह छेउ–छाउबाट माटो, पत्थरका भाँडावर्तन तथा गहना भेटिने गरेको स्थानीय बतहु चौधरीले सुनाए । 

 

दरबार संरक्षणका लागि राज्यका तर्फबाट हालसम्म कुनै पहल नभएका कारण प्राचीन एवं कलात्मक सामग्री तथा इँटा चोरी हुने सम्भावना बढ्दै गएको चौधरीको भनाइ छ ।


ऐतिहासिक दरबार स्थल क्षेत्र हाल खुलै हुँदा कलात्मक वस्तु तथा इ“टासमेत चोरी हुन सक्ने अवस्था रहेकाले यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका इतिहास तथा संस्कृति विभाग प्रमुख डा. पीताम्बरलाल यादवको सुझाव छ । 


‘यस्तै अवस्था रहे यस क्षेत्रको अस्तित्व समाप्त भएर जानेछ’, उनले भने, ‘पुरातत्त्व विभागबाट टोली दरबार उत्खनन गर्न सप्तरी आउ“दा म पनि पुगेको थिए“ । दाह्री भएको बुद्धको दुर्लभ मूर्ति भेटिएको थियो । केही महिनापछि पुनः आउने टोलीको प्रतिबद्धता कार्यान्वयन भएन ।’

 

उक्त क्षेत्र सेनकालीन दरबारको अवशेष भएको दाबी गर्दै चौधौँ शताब्दीतिर सेनवंशी राजा चन्द्रसेनले ग्रीष्मकालमा बस्न दरबार बनाएको डा. यादवको तर्क छ । राष्ट्रको सम्पत्तिको रूपमा रहेको दरबारको संरक्षणका लागि सम्बन्धित निकायको तत्कालै ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।