close

पर्वतका बालविकास सहयोगी आन्दोलित

पर्वतका बालविकास सहयोगी आन्दोलित

Trulli
ADVERTISEMENT

पर्वत– सरकारले चालु आर्थिक वर्षको बजेट घोषणा गर्ने क्रममा बढाएको पारिश्रमिक पाउनुपर्ने माग राख्दै पर्वतका बाल विकास सहयोगी आन्दोलित बनेका छन् । 

 

कुस्मा नगरपालिकाभित्रका विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीले आन्दोलन थालेका हुन् । सरकारले घोषणा गरेको पारिश्रमिक चार महिना बितिसक्दासमेत पालिकाले उपलब्ध नगराएको भन्दै उनीहरूले बढेको पारिश्रमिक नपाएसम्म विद्यालय नफर्किने बताएका छन् । सरकारले तोकेअनुसारकै मासिक  १५ हजार रुपैयाँ पारिश्रमिक पाउनुपर्ने भन्दै कुश्मा नगरपालिकाका सहजकर्ता र विद्यालयका कर्मचारी कुस्मास्थित नगरपालिकाको कार्यालयमा धर्ना दिँदै आएका छन् ।  

 

कुस्मा नगरपालिकाले दसैं भत्तासहित रु ६ हजारका दरले तीन महिनाको तलब खातामा जम्मा गर्न बैंकमा पठाएको सूचना पाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । ‘सरकारले जेठमै घोषणा गरेको पारिश्रमिक दसैँ आउँदासम्म पनि पाउने छाँटकाँट देखिएन’, बाल विकास सहजकर्ता दिव्या सापकोटाले भनिन् । कुस्माका विद्यालयमा ७३ बाल विकास सहजकर्ता, ६५ सहयोगी र १८ कर्मचारी छन् । नगरपालिकाका सबै विद्यालयमा बाल विकास सहजकर्ता, आधारभूत विद्यालयमा विद्यालय सहयोगी र माध्यमिक तहमा लेखाको समेत हेर्ने गरी विद्यालय कर्मचारीको व्यवस्था सरकारले गरेको थियो । 

 

चाडपर्व खर्चसहित पहिलो चौमासिकको पारिश्रमिक जम्मा गर्दा नै बढेको पारिश्रमिक पाउनुपर्ने उनिहरूको माग छ । बाल विकास सहयोगीको मागप्रति नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले ऐक्यबद्धता जनाएका छन् । संगठनका जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारीले बालविकासका शिक्षक र विद्यालयका कर्मचारीमाथि अन्याय भएको बताए । नगरपालिकाले भने संघीय सरकारले बजेट वक्तव्यमा घोषणा गरेर सोहीअनुसार रकम नपठाउँदा बढेको पारिश्रमिक दिन समस्या भएको जनाएको छ । कुस्मा नगर शिक्षा अधिकृत विष्णु तिवारीले शिक्षिकाको माग जायज भए पनि बढेको पारिश्रमिक दिन नगरपालिकाबाट निर्णय नभएको बताए । ‘नगरपालिकालाई वार्षिक रु दुई करोड अतिरिक्त भार बढ्छ’, उनले भने ।