close

सबैलाका स्थानीय दुई सातादेखि अख्तियार र नगरपालिकाविरुद्ध रिले अनशनमा

सरकारी कार्यालयमा सूचनाको सकस

सबैलाका स्थानीय दुई सातादेखि अख्तियार र नगरपालिकाविरुद्ध रिले अनशनमा

सरकारी कार्यालयमा सूचनाको सकस

Trulli
ADVERTISEMENT

धनुषा– सूचनाको हकअनुसार अभिलेख नपाएको र भ्रष्टाचारको सत्यतथ्य छानबिनका लागि अख्तियार अनुसन्धान आयोगमाथि दबाब सिर्जना गर्न सबैला नगरपालिकाका स्थानीय १६ दिनदेखि रिले अनशनमा बसिरहेका छन् । 

 

नागरिक सूचनाको हक प्रयोग गर्दै स्थानीय सुरेश यादवले गत २३ जेठमा नगरपालिकामा हुलाकमार्फत निवेदन दर्ता गराएका थिए । नगर प्रमुख शिवशंकर साहले निवेदन दर्ता गर्न नमानेपछि यादवले हुलाकमार्फत दर्ता गराएका हुन् । 


सूचनामा माग गरेको अभिलेख नगरप्रमुख साहले उपलब्ध नगराएपछि विभिन्न बुँदामा भ्रष्टाचार भएको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा २५ भदौमा उजुरी दर्ता गराएका थिए । 

 

तर, अख्तियारले पनि प्रारम्भिक छानबिन सुरु नगरेपछि यादवको नेतृत्वमा नगरपालिकाकै परिसरमा टेन्ट गाडेर ४ असोजबाट नियमित रिले अनशनमा बस्दै आएका छन् ।  यद्यपि बर्दिबासस्थित अख्तियारको कार्यालयले १४ असोजमा आवश्यक कागजात झिकाएर प्रारम्भिक छानबिन सुरु गरिसकेको छ ।  अख्तियारले छानबिन थाले पनि सत्यतथ्य हुनुपर्ने र नगरप्रमुखले सूचनाको हकअनुसार अभिलेख दिनुपर्ने मागसहित उनीहरू रिले अनशनरत छन् । 

 

स्थानीयले नगरपालिकामा भएका भ्रष्टाचारविरुद्ध आवाज उठाउन भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिसमेत गठन गरेका छन् । सोही समितिमार्फत भ्रष्टाचारविरुद्ध जागरण अभियान चलाउँदै आएका छन् । 

 

भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति सबैलाका संयोजक सुरेश यादवको अगुवाइमा विजयकुमार साह, रामबहादुर साह, विक्रम यादव र सिकेन्द्र सिंह यादवलगायतका समूह रिले अनशनमा बसेको छ । 

 

नगरप्रमुख साह आफ्ना आसेपासेसहित अनशन स्थल भत्काउन आएको अनशनकारीको आरोप छ । १४ असोजमा अनशनस्थल भत्काउन आएका नगरप्रमुख साहविरुद्ध स्थानीयले नाराबाजी गरेपछि उनी त्यहाँबाट फर्किएका थिए ।

 

रातीको समय अज्ञात व्यक्तिले टेन्टका कपडा च्यातेर क्षति पुर्‍याएपछि उनीहरूले अनशन बस्ने समय बढाएका छन् ।  सूचना माग गर्दै युवाहरू दिनहुँ बिहान १० देखि दिउँसो ५ बजेसम्म अनशन बस्दै आएका छन् । तर, टेन्टमा क्षति पुर्‍याइएपछि २४ सै घन्टा अनशन बस्न थालेका छन् । उनीहरूले मेयर साहले नै अनशन स्थलमा खडा गरिएको टेन्टका कपडा च्यात्न लगाएको आरोप लगाए । 


भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति सबैलाका संयोजक यादवले सूचना दिनुको साटो जनप्रतिनिधि र कर्मचारी भिडाएर रोक्न खोजेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । नगरपालिकामा विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ अनियमितता भएको उनको आरोप छ ।  परामर्शकै नाममा नक्कली कागजात बनाएर बजेट निकासा गरी १ करोड रुपैयाँ जनप्रतिनिधि र कर्मचारीले बाँडेर खाएको यादवको दाबी छ ।

 

उनका अनुसार गत असारमा बासमती धानको बिउ वितरण नै नगरी फर्जी कागजात तयार गरेर १९ लाख रुपैयाँ निकासा गरिएको छ । कृषि औजार खरिद, इन्धन, औषधी, विकास निर्माणलगायत शीर्षकमा नगरप्रमुख साहले भ्रष्टाचार गरेको यादवको भनाइ छ । 

 

‘नगरप्रमुख साहले अख्तियारलाई प्रभावमा पार्न सक्ने शंका लागेर अख्तियारमाथि दबाब दिन अनशन अझै जारी राखेका छौँ’, यादवले भने, ‘हाम्रो माग अख्तियारले निष्पक्ष छानबिन गरोस् भन्ने हो ।’

 

यस्तै, गत आर्थिक वर्षमा सबैलादेखि खरिहानीसम्म (दुर्गा पथ) को सडक निर्माणका लागि सर्लाहीको डिपिआर बुझाएर नगरपालिकाबाट ५५ लाख रुपैयाँ निकासा गरेको संघर्ष समितिका उपसंयोजक रामबहादुर साहको दाबी छ ।

 

नगरपालिकाका जनप्रतिनिधि सहभागी एक घन्टाको गोष्ठीमा मात्रै ४० लाख रुपैयाँ खर्चिएको उनले बताए । साहले भने, ‘हरहिसाब माग्दै दुई सातादेखि रिले अनशन बसे पनि सूचना उपलब्ध गराउन वा सहमतिका लागि नगरपालिकाबाट कोही आएका छैनन् ।’  नगर उपप्रमुख निलुदेवी कापरले आन्दोलनरत पक्षको माग जायज रहेको बताइन् । नगरपालिकाको हरहिसाब खोज्नु सबै नगरबासीको हकाधिकार रहेको उनको भनाइ छ ।

 

‘हरहिसाब पारदर्शी हुनुपर्छ । नगरबासी जोकोहीले मागेको सूचना दिनुपर्छ । अब नगरप्रमुख र कार्यालय प्रमुखले किन सूचना दिन खोज्नुभएन, यो विषय उहाँहरूलाई थाहा होला,’ उपप्रमुख कापर भन्छिन्, ‘जहाँसम्म लाग्छ, हरहिसाबमा ठूलो घोटाला भएको होला । त्यसैले हरहिसाब दिन डराउँदै छन् ।’
अख्तियारको बर्दिबास महोत्तरी कार्यालयका प्रवक्ता कमलकुमार अधिकारीले गाइडलाइनअनुसार अनुसन्धान प्रक्रिया थालिएको बताए । उनले प्राप्त तथ्यमाथि छानबिन भइरहेको जानकारी दिए । 

 

सबैला नगरपालिका प्रमुख साहले नीति नियमअनुसार उपलब्ध गराउनुपर्ने अभिलेख दिन तयार रहेको बताउँदै कार्यालयमा आएर लैजान आग्रह गरे पनि उनीहरू नआएपछि हुलाकमार्फत अभिलेख पठाएको दाबी गरे ।