close

कुश्मा नगरपालिकाले बाल शिक्षिका र कर्मचारीको तलब बढायो 

कुश्मा नगरपालिकाले बाल शिक्षिका र कर्मचारीको तलब बढायो 

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । 

 

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार बालविकास सहजकर्तालाई  १५ हजार ५००, विद्यालयका कार्यालय सहयोगीलाई  १५ हजार र विद्यालयका कर्मचारीलाई  २० हजार ५०० रुपैयाँ मासिक तलब तोकेको हो । शिक्षक दिवसकै अवसरमा नगरपालिकाले यस्तो निर्णय गरेको हो । 

 

सङ्घीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै बाल शिक्षिकाको निरन्तरको आन्दोलनपछि आज बसेको कार्यपालिकाको बैठकले तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । यसरी तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक १ करोड ५० लाख दायित्व बढ्ने भएको छ । कुश्मा नगरपालिकाभित्रका बिद्यालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी रहेका छन् । 

 

नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताउनुभयो । सङ्घीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैँले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताउनुभयो । बैठकले सवारी चालक, स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीको पनि तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको छ ।