close

बैतडीका स्थानीय तहमा सडक खन्ने होडबाजी

बैतडीका स्थानीय तहमा सडक खन्ने होडबाजी

Trulli
ADVERTISEMENT

बैतडी–  विकास बजेटमा सबैभन्दा बढी खर्च ग्रामीण सडकमा हुने गरेको छ । बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि ग्रामीण सडक खन्ने होडबाजी नै चलेको छ ।  सबै स्थानीय तहले पहिलो प्राथमिकता सडकलाई नै राखेका छन् । बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । 

 

जनप्रतिनिधि आएको ४ वर्षको अवधिमा बैतडीका स्थानीय तहमा १ हजार ७२९ किलोमिटर सडक खनिएको छ । स्थानीयवासीको माग र आवश्यकतानुसार नै सडक खनिएका स्थानीय तहहरुले जनाएका छन् । ग्रामीण सडक बढी निर्माण गर्नेमा पञ्चेश्वर गाउँपालिका रहेको छ भने कममा सिगास गाउँपालिका रहेको छ ।

 

पञ्चेश्वरमा हालसम्म २९० किलोमिटर सडकको ट्रयाक खोलिएको छ । तीमध्ये २५० किलोमिटर गाउँपालिका र ४० किलोमिटर सङ्घीय सरकारको बजेटमा सडक निर्माण भएको हो । गाउँपालिकाले सडकमा प्रतिवर्ष कम्तीमा ३  करोड बढी रकम खर्च गरेको जनाएको छ । विकासको मेरुदण्ड नै सडक रहेकाले पहिलो प्राथमिकतामा सडक परेको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाको  भनाइ छ ।

 

तीन वर्षको अवधिमा शिवनाथ गाउँपालिकामा २३६ किलोमिटर सडक निर्माण भएको छ । शिवनाथमा दुईवटा सडक सङ्घीय र दुईवटा प्रदेश सरकारले निर्माण गरेको हो । वार्षिक रु तीन करोड सडकमा खर्च गरिरहेको गाउँपालिकाले हाल तीनवटा सडकको स्तरोन्नति गरिरहेको छ ।

 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा जनप्रतिनिधि आएपछि २०० किलोमिटर सडक निर्माण भएको छ । चालिस सडक निर्माण गरेको नगरपालिकाले वार्षिक रु तीन करोडदेखि रु सात करोडसम्म सडकमा खर्च गरेको छ । गाउँगाउँमा सडक पुर्‍याउने लक्ष्यका साथ सडक निर्माणमा जोड दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । पाटन नगरपालिकाले १८० किलोमिटर सडक निर्माण गरेको जनाएको छ ।   हरेक वडामा कम्तीमा १५ किलोमिटर सडक खनेको पाटनले ५० भन्दा बढी सडक निर्माण गरेको हो ।

 

मेलौली नगरपालिकाले पनि १८० किलोमिटर सडक निर्माण गरेको छ । नगरपालिकाले सबै वडाहरुमा गरी हालसम्म ३२ सडक निर्माण गरेको हो । दोगडाकेदार गाउँपालिकाले हालसम्म १६१ किलोमिटर सडक निर्माण गरेको छ । पाँचवटा चक्रपथसमेत निर्माण गरेकामा हालसम्म २० वटा सडक खनेको गाउँपालिकाले जनाएको छ । जिल्लाको पुर्चौडी नगरपालिकाले १५० किलोमिटर सडक निर्माण गरेको छ । सबै वडालाई कच्ची सडकले छोएको पुर्चौडीमा हालसम्म १८ वटा सडक खनिएका हुन् ।

 

सुर्नया गाउँपालिकाले हालसम्म १०९ किलोमिटर सडक निर्माण गरेको छ । चार वर्षमा २० वटा सडक खनेको सुर्नयामा वार्षिक २ करोडदेखि ४  करोड रुपैयाँसम्म सडकमा खर्च गरेको छ । स्थानीय नागरिकको माग र आवश्यकतानुसार नै सडकलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए ।

 

विकास निर्माणको हिसाबले जिल्लाको सबैभन्दा दुर्गम मानिएको  सिगास गाउँपालिकाले जनप्रतिनिधि आएपछि १० सडक निर्माण गरेको १०३ किलोमिटर खनेको हो । डिलाशैनी गाउँपालिकामा ११९ किलोमिटर सडक खनिएको छ । जनप्रतिनिधि आएपछि यहाँ सडक खन्ने होडबाजी चलेको भए पनि बिना स्टमेट सडक निर्माण गरिँदा जोखिमसमेत निम्त्याउने गरेको सामाजिक अभियानकर्मीसमेत रहनुभएका दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका भोजराज जोशी ‘क्वालिटी’को भनाइ छ । उनले भने, ‘गाउँगाउँमा सडक पुर्‍याउने नाममा बिना स्टमेट सडक खन्ने गरेका छन्, यसले विपद् निम्तिने गरेको छ ।’

 

उनका अनुसार गाउँमा सडक पुर्‍याउन स्थानीय तहले विकास बजेटको ५० देखि ७० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा सङ्घीय सरकारको लगानीमा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्सेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दूरी अत्यन्त न्यून रहेको छ । ‘टोलटोलमा खनिएका सडकका कारण मुख्य सडक र भूक्षयमा गम्भीर असर परेको छ ’, उनले भने, ‘ठूलो बजेट नहुने स्थानीय सरकारले सडकमा धेरै लगानी गर्न नसकेका कारण टोलटोलमा खनेका सडकले विनाश थपेको छ ।’ 

 

डोजर चालक नै प्रावाधिक बन्ने गरेकाले यहाँ हरेक वर्ष विपद् बढ्दै गएको उनको आरोप छ । यसका साथै ग्रामीण सडक स्तरोन्नतिमा ध्यान नदिँदा यहाँका ग्रामीण सडकमा सवारी दुर्घटनासमेत हुने गरेको छ । उनले भने, ‘सडक खन्ने होडबाजीभन्दा पनि खनिएका सडक स्तरोन्नतिमा ध्यान दिनुपर्छ, जसले विपद् र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’