close

पर्वतको महाशिलाले सुरु गर्‍यो ‘किचन गार्डेन’ कार्यक्रम 

पर्वतको महाशिलाले सुरु गर्‍यो ‘किचन गार्डेन’ कार्यक्रम 

Trulli
ADVERTISEMENT

पर्वत– महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु गरिएको छ । महाशिला–५ लुङ्खुदेउरालीमा किचन गार्डेन कार्यक्रम सुरु गरिएको हो । हरेक घरधुरीमा उपभोग हुने तरकारी, फलफूललगायत उत्पादनबाट गाउँ, समाज, वडा र सिङ्गो पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो ।

 

यस वर्षदेखि सुरु भएको कार्यक्रमअन्तर्गत वडा नं ५ का सबै घरधुरीलाई साग, मुला, सिमी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारीका बीउ वितरण गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार वडाभित्रका ६३० घरधुरीलाई बीउ वितरण गरिएको हो । विभिन्न प्रजातिका बीउ गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल र प्रवक्ता तथा वडाध्यक्ष उच्चैले कृषकलाई वितरण गरेका हुन् ।

 

किचन गार्डेन कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष १ लाख २५ हजार विनियोजन गरेको वडाध्यक्ष उच्चैले जानकारी दिए । उनका अनुसार अब सबै घरमा उपभोग हुने आवश्यक तरकारी घरमै बाह्रैमास उत्पादन गर्ने उपभोग गरेर बढी भएको तरकारी बिक्री गरी आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो ।

 

घरमै उत्पादित अग्र्यानिक तरकारी उपभोग गर्दा पालिकाका बासिन्दाको स्वास्थ्यमा फाइदा हुने, दैनिक खर्चसमेत बचत हुने र घर वरिपरिको वातावरण सफा हुने भएकाले पनि यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । यो कार्यक्रम जिल्लामै नमूनाका रूपमा अघि बढाइएको उनको भनाइ छ । महाशिलाको वडा नं ५ तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास हुँदै गएको छ ।

 

यहाँबाट वार्षिकरूपमा रु एक करोडभन्दा बढीको मौसमी तथा बेमौसमी तरकारी स्याङ्जा, पोखरा तथा सदरमुकाम कुश्मा निर्यात हुने गरेको छ । अहिले किचन गार्डेन कार्यक्रम परीक्षणका रूपमा वडा नं ५ मात्रै सुरु गरिएको र आगामी दिनमा छवटै वडामा विस्तार गरिने जनाइएको छ ।