close

करेसामा सूर्यका उज्याला !

करेसामा सूर्यका उज्याला !

Trulli
ADVERTISEMENT

बागलुङ–खोला छेउमा ठूलो प्लास्टिक घर । आसपासमा रहेका स–साना टहरा, त्यहाँभन्दा तलका स–साना प्लास्टिक घर र पानीका पोखरी । त्यही हुर्किरहेका छन्, सूर्यका सपनाहरू । 


प्लास्टिक घरमा हुर्किरहेका गोलभेडालगायत तरकारीका बिरुवा, खोरमा विभिन्न जातका बंगुर र खोलाको चिसो पानीको सदुपयोग गर्दै पालिएका माछा ।  जसरी समयको चक्र घुमिरहेको छ, उसैगरी हुर्केका बिरुवा, बंगुर र माछाले निर्धारण गर्नेछन्, सूर्यको भाग्य र भविष्य ।


बागलुङको गलकोट नगरपालिका वडा नम्बर १ दुदीलाभाटीका ३२ वर्षीय सूर्य कुँवर व्यावसायिक किसान हुन् । दुदिलाभाटीको भाटीबजार नजिकै खोला छेउमा उनको कृषि फार्म छ । तरकारीदेखि माछामासु उब्जाउन उनी दिनरात खटिन्छन् । परिवारको सहयोग र कामदारसमेत राखेर उनको फार्मले गति लिएको छ ।


हन्डर र ठक्करले खारिएका कुँवरले तत्कालीन द्वन्द्वको समय देशमा आमूल परिवर्तनको सपना देखे । देशको माटो र नेपालको मुहार फेर्ने सपना देखेर सानै उमेरमा युद्धमा होमिएका सूर्य माओवादी जनयुद्धका पूर्वलडाकुसमेत हुन् ।


२०५९ मा १४ वर्षको कलिलो उमेरमा युद्धमा होमिएका उनले जीवनको ऊर्जावान् ७ वर्ष युद्ध र क्यान्टोनमेनमै बिताए ।  उमेर नपुगेको भनेर राष्ट्रसंघीय मिसन अनमिनले उनलाई अयोग्य ठहर ग¥यो । क्यान्टोनमेनबाट रित्तो हात बाहिरिएका सूर्यको हातमा अहिले करोडको सम्पत्ति हुर्किरहेको छ ।

 

७ वर्षको लडाकु जीवनबाट बाहिरिएपछि रित्तो हात घर फर्केका उनी ६ वर्ष विदेश भासिए । मलेसियाको जोहरबारु राज्यको एक कम्पनीमा काम गरेर केही नगद जोडेका सूर्य अहिले आफ्नै माटोमा सुन फलेको देखिरहेका छन् ।  ‘परिर्वतन भई दिन फेरिन्छन् भनेर युद्धमा लागियो । कमाउन विदेश पनि भासिएँ तर केही लागेन । अहिले आफ्नै माटोमा सुन्दर सपना देखिरहेको छु,’ सूर्य भन्छन्, ‘मिहिनेत गर्न कहिल्यै छाडिनँ, छाड्दिनँ पनि ।’

 

उनले भाटीबजार छेउमा पाँच रोपनी जग्गा किनेका छन् । त्यही जग्गामा हाइटेक टनेल र अन्य स–साना टनेल छन् ।  माछापालनका लागि पोखरी र बंगुर फार्म छन् । सूर्यले बर्सेनि लाखौँको तरकारी गलकोट बजार र आसपास क्षेत्रमा बिक्री गर्छन् । कमन कार्प र ग्रास कार्प जातको माछा पालेर वर्षमा ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी बताउँछन् । 


प्लास्टिक घरमा फलेको तरकारीले बर्सेनि ४ देखि ५ लाख रुपैयाँसम्म घर भित्राउँछन् । 
‘पहिले तरकारी अलि बढी फलाएको थिएँ । दुई वर्ष पहिलेबाट माछा र बंगुरपालन पनि सुरु गरेँ,’ कुँवर भन्छन्, ‘६० लाख रुपैयाँ लगानी गरेको छु । अबको दुई वर्षमा ३५ लाख रुपैयाँ मुनाफा निकाल्छु ।’

५० वटा विभिन्न जातका माउ बंगुर छन् । हरेक महिना १५ वटा बंगुरका पाठा बिक्री हुन्छन् । एउटा पाठाको ७ हजार रुपैयाँ पर्ने गरेको उनले सुनाए ।  ‘माउ बंगुर बिक्री हुँदा १ लाख रुपैयाँ बढी पर्छ । काटेर खानेहरूले लैजाने बंगुर ४०/५० हजारमा बेचिरहेको छु,’ सूर्यले भने, ‘अहिले बिक्री गरेर मुनाफा कमाउनेभन्दा पनि बढाउनेतर्फ ध्यान दिएको छु ।’ 

 

तरकारी, माछा र पाठा बेचेको रकमले मात्रै घर खर्च चलेर बचत पनि हुन्छ ।  गलकोट अर्गानिक एग्रिकल्चर एन्ड लाइभस्टक फार्म दर्ता गरेर उनले व्यवसायलाई वैध बनाएका छन् । ‘बजारको समस्या छैन, घरमै खोज्न आउनेहरू कति छन् कति,’ उनले भने, ‘म आफूले मात्रै कमाउने होइन, रोजगारी पनि दिएको छु ।’

 

फार्ममा काम गर्न एक जना कामदार राखेका छन् । बंगुरका लागि आवश्यक दाना, घाँस, सिस्नो खोजेर ल्याउनेका लागि उनले तौलको हिसाबमा पैसा दिन्छन् । पानी प्रशस्त रहेको र उत्पादनशील माटो भएकाले चाहेजस्तै उत्पादन लिन सएिकामा सूर्य मख्ख छन् । अहिले फार्मबाट भइरहेको मुनाफा र आफ्नै माटोमा मिलेको सन्तुष्टिले सूर्यले युद्ध र विदेशमा बिताएका १३ वर्ष खेर गएको भन्दै पछुतो मान्छन् ।