close

भत्किँदै चौतारा, फलैँचा, पाटीपौवा : विकासले निम्त्यायो विनास 

भत्किँदै चौतारा, फलैँचा, पाटीपौवा : विकासले निम्त्यायो विनास 

Trulli
ADVERTISEMENT

पाँचथर– एक समय थियो, बटुवाले आराम गर्ने, भारी बिसाउने पैदल मार्गको उपयुक्त ठाउँमा बनाइन्थे चौतारा, फलैँचा, पाटीपौवा । बाटो हिँड्ने बटुवा एकैछिन भए पनि चौतारा, फलैँचामा सुस्ताएर मात्र बाटो लाग्थे । वरपीपलको शितल छहारीमुनि थाकेको शरीरलाई बिसाउँथे । सुस्केरा हाल्थे । सुसेली मार्थे । आनन्दानुभूति गर्थे । 

 

बीच बाटोमै रात परे चिन्ता हुन्नथ्यो, छँदै थिए पाटीपौवा । सातुसामल साथमै बोकेर हिँड्ने भरिया पाटीमै पकाएर खान्थे । पाटीमै बास बसेर भालेको डाकसँगै बाटो लाग्थे । दशक हाराहारी मात्रै अघिको यो यथार्थ विकासको निर्माणको चपेटामा परेसँगै हुर्किदै गरेको पुस्ताका लागि ‘कथा’ जस्तै बन्दै गएको छ ।

 

गाउँ–सहरमा विकासको चरणसँगै चौतारा, फलैँचा, पाटीपौवाजस्ता सामाजिक संरचनाको अस्तित्व संकटमा परेको छ । दूरदराज मानिएका गाउँघर सडक सञ्जालले जोडिएपछि पैदल मार्ग विस्थापित भएका छन् । सडक सञ्जालले पैदल मार्गलाई विस्थापित गरेसँगै यस्ता संरचनाको विजोग भएको हो ।

 

पुराना सामाजिक संरचनाबारे चासो राख्ने लक्ष्मण लावतीका अनुसार पहिले–पहिले आफन्तजनको देहावसानपछि मृतकको स्मृतिमा चौतारा, फलैँचा वा पाटीपौवा बनाउने चलन थियो । मृतकको आत्माको शान्ति र पुण्य प्राप्तिका लागि यस्ता संरचना निर्माण गरिन्थे । तर, विकासको क्रमसँगै अहिले यी संरचना बेकम्माजस्तै भएका छन् ।

 

यस्ता संरचनामा रोपिने वर–पीपलको रुख मानव स्वास्थ्यका लागिसमेत राम्रो हुने लावती सुनाउँछन् । यी संरचनाले सामाजिक, सांस्कृतिक महत्त्वसमेत राख्ने भएकाले संरक्षण आवश्यक रहेको लावतीको भनाइ छ । यसले आउँदो पुस्तालाई समाज विकासको चरण र नेपाली सामाजिक, सांस्कृतिक पक्षबारे बुझ्न मद्दत पुग्ने लावोतीको धारणा छ । 

 

कुना–कुनामा यातायात सुविधा पुग्दा यस्ता संरचनाको अस्तित्व अप्ठेरोमा परेको फिदिमस्थित कञ्चनजंघा एकेडेमीमा समाजशास्त्र पढाउने शिक्षक युधिष्ठिरराज अमगाईं बताउँछन् ।

चौतारा, फलौचा बनाउने संस्कृतिलाई समयसापेक्ष ढंगले निरन्तरता दिन सकिने उनको भनाइ छ । पहिले पैदल मार्गमा बनाइने यस्ता संरचना अब गाउँ–टोल आसपासमा ‘पार्क’ शैलीमा निर्माण गरिनु उत्तम हुने उनले सुझाए ।  जिल्लामा यस्ता संरचना नगन्य मात्रामा छन् ।

 

तर, पैदल मार्ग विस्थापित भएसँगै प्रायः सबै जीर्णावस्थामा पुगेका छन् । मानिसको पद्चापबिनाका पैदलमार्ग मेटिएर जाँदैछन् । मानव आउजाउबिनाका यस्ता संरचना भत्किएर जाँदैछन् । यी संरचनाको महत्त्व र संरक्षणबारे छलफलमा कुरा राख्ने फिदिम नगरकार्यपालिका सदस्य विमला लिम्बूले जानकारी दिइन् ।