close

वृद्ध बाआमालाई घर–घरमै पुगेर नागरिकता बाँड्दै सप्तरीका सिडिओ

वृद्ध बाआमालाई घर–घरमै पुगेर नागरिकता बाँड्दै सप्तरीका सिडिओ

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरका बौवालाल गुरमैता यादव ७३ वर्षका भए । यो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् ।


जन्मैदेखि पूर्ण अपांगता उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैनथे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता वितरण गरेको हो ।


जन्मैदेखि पूर्ण अपांगता रहेका यादव घिस्रेर हिँड्छन् । ७३ वर्षको उमेरमा नागरिकता नपाउँदा उनी सरकारी सेवा–सुविधाबाट वञ्चित थिए ।
हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले दिलाइदिन पहल गरेका थिए । 

 

‘उनका दाजुभाइ र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन् । उनले बनाउनै सकेका थिएनन्’, स्थानीय युवा सन्दीप कर्णले भने, ‘हिँड्न नसकेकै कारण जिल्ला प्रशासनसम्म नपुग्दा नागरिकताबाट वञ्चित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता वितरण गर्नुभएको छ ।’


सप्तरीमा यसअघि पनि जन्मैदेखि अपांगता रहेका एक युवकलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का प्रल्हाद मण्डललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले २७ साउनमा घरमै गएर नागरिकता दिएका थिए ।
यसरी घरमै पुगेर नागरिकता वितरण गर्न थालेपछि वृद्ध तथा अपांगता भएकाहरू खुसी छन् ।