close

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण पूरा

प्रदेश १ मा विद्युत् प्रवाह मेरुदण्ड तयार

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण पूरा

प्रदेश १ मा विद्युत् प्रवाह मेरुदण्ड तयार

Trulli
ADVERTISEMENT

काठमाडौं– कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।  पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकातर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो ।


विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेजअन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरियो । 


अनुमानित लागत ११ करोड २० लाख डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ । 


कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब १००० मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाट विद्युत् प्रसारण गर्न सकिनेछ ।  प्रदेश १ का जिल्लामा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्नेछ । 


एक्जिम बैंकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरे ।


कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पालगायत उपस्थित थिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए ।


कोसी करिडोर र काबेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिए । आयोजनाअन्तर्गतका सब–स्टेसनको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने उनको भनाइ छ । 

 

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइन निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए ।


प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको उनको धारणा छ ।  नेपाल–भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाबमोजिम नेपालले भारतबाट विद्युत् खरिद गर्न मात्र नभएर बिक्री गर्नसमेत पाउने बताइन् । 


धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले इच्छाशक्ति भए ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छन् भन्ने कोसी करिडोर निर्माणबाट पुष्टि भएको बताए ।
उनले अब प्राधिकरण जनतालाई विद्युत् जाँदैन भन्ने सुनिश्चित गर्नतर्फ केन्द्रित हुन सुझाव दिए । 


प्रधिकरणले कोसी करिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत् आयोजनाको वर्तमान कार्यप्रगति तथा भावी योजनालाई दृष्टिगत गरी आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सब–स्टेसनमा २२० केभी लाइन वे तथा पावर ट्रान्सफरमर क्षमता विस्तार गर्ने योजना बनाएको छ । 


आयोजनाको प्रथम चरणको कार्यका लागि जस्तै दोस्रो चरणको निर्माण अर्थात् दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सब–स्टेसनको क्षमता विस्तारका लागि आवश्यक अनुमानित लागत ४० मिलियन डलर नेपाल सरकारमार्फत विद्युत् प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ । 

 

कोरोना महामारी र त्यसपछि सिर्जित बन्दाबन्दीले आयोजना  प्रभावित भएको थियो । प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरण र प्राविधिक कोरोना महामारीका कारण पूर्वनिर्धारित समय नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको हो । 

 

प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सब–स्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सब–स्टेसन निर्माण गर्ने रहेको छ । 

 

अरुण र तमोर नदी र तिनका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।


प्रदेश १ का भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोर निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमशः ८० ७० प्रतिशत निर्माण सकिएको छ । 


प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०÷१३२÷३३ केभीका तीन वटा सब–स्टेसन र इनरुवा सब–स्टेसनमा ‘वे एक्सटेन्सन’को काम अन्तिम चरणमा छन् ।  आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 


इनरुवामा अहिले २२० केभीको सब–स्टेसन निर्माणाधीन छ । उक्त सब–स्टेसन निर्माण पूरा नहुन्जेलसम्म इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा  चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।


संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्ज गरिएको हो । प्याकेज २ अन्तर्गत सब–स्टेसन निर्माण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सब–स्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–बानेश्वर –तुम्लिङ्गटार प्रसारण लाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

 

हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट बर्खाको समय त्यस क्षेत्रका आयोजनाले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । 


तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजना बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । 


आयोजनाको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगर वडा नम्बर १७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । 


करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार  २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसनसँग २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको  अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ । 


दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सब–स्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग ११ जुलाई २०१८ मा ठेक्का सम्झौता भएको थियो । सब–स्टेसन निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ ।   यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ ।


तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु  ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिनेछ ।