close

मासुको मूल्य निर्धारण : खसीको मासु प्रति किलो १ हजारदेखि १ हजार ३०० रुपैयाँसम्म 

मासुको मूल्य निर्धारण : खसीको मासु प्रति किलो १ हजारदेखि १ हजार ३०० रुपैयाँसम्म 

Trulli
ADVERTISEMENT

काठमाडौं– मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो १ हजार, बोसो राखिएकाको १ हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३०० निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो रु ३०० तथा रागाँ र बङ्गुरको मासु रु पाँच÷पाँच सय तोकिएको छ ।

 

राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए । 

 

‘सङ्घबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ । तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए सङ्घबाट कारबाही हुन्छ’’, उनले भने ।

 

अन्य समयको तुलनामा दशैँमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दशैँको अवधिमा कुनै परिवर्तन हुनेछैन । यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।

 

मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो । चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

 

अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढ्ने बताए । चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् । सङ्घका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७०० देखि ८०० र  मासु २ हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै  १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए । उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले  दशैँका लागि मासुको अभाव नहुने जानकारी दिए ।

 

अध्यक्ष थापाका  अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौँ उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ ।