close

नगरवासीसँग गरेका बाचा पूरा गर्दै मौलापुरकी  नगरप्रमुख 

नगरवासीसँग गरेका बाचा पूरा गर्दै मौलापुरकी  नगरप्रमुख 

Trulli
ADVERTISEMENT

रौतहटको मौलापुर नगरपालिका, राज्य पुनर्संचरनाको क्रममा साविक पतौरा, पथरा बुधराम, सोनरनिया र मर्यादपुर गाविस मिलेर गठन भएको थियो । नौ वटा वडा रहेको यस नगरपालिकाको केन्द्र मौलापुर बजारमा रहेको छ । विकासको दृष्टिकोणले निकै पछाडि रहेको रौतहट जिल्लाको सबैभन्दा विकट क्षेत्र थिए मौलापुरमा समेटिएका गाउँहरू । मौलापुरका स्थानीय सामान किन्न, स्वास्थ्य, शिक्षालगायत सेवाका लागि रौतहट सदरमुकाम गौर, रौतहटकै गरुडा र चपुर वा बारा जिल्लाको कलैया पुग्नुपर्ने बाध्यता थियो । सडक पूर्वाधारको अभावमा बर्खा याममा पूर्वमा रहेको लालबकैया नदी र बारा जिल्लाको सिमानामा रहेको अरुवा नदीमा पानीको स्तर बढ्दा यो क्षेत्र टापुजस्तै बन्थ्यो । 


२ असोज २०७४  मा सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकाले पहिलो पटक नेतृत्व पायो । तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रीनाकुमारी साह मौलापुरको नगरप्रमुख पदमा निर्वाचित भइन् । मौलापुर नगरपालिकाको मात्र नभई प्रदेश नम्बर २ कै एक मात्र र प्रथम महिला नगरप्रमुख बनिन् । 


एक त मधेशी समुदायकी महिला, त्यसमाथि मुलुकमा भर्खरै मात्र स्थापित नयाँ संरचनाअन्तर्गत काम गर्नुपर्ने चुनौती उनीसामु थिए । शपथ ग्रहण कार्यक्रममै साहले अन्य स्थानीय तहका पुरुष जनप्रतिनिधिभन्दा उत्तम कार्य गर्ने र मौलापुर नगरपालिकालाई उत्कृष्ट नगर बनाउने दृढ संकल्पका साथ अगाडि बढ्ने उद्घोष गरिन् ।

 
निर्वाचन सम्पन्न भएको चार वर्ष पुग्दा उनको त्यो उद्घोषले सार्थक रूप लिँदै गएको देख्न सकिन्छ । यो अवधिमा यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा उल्लेखनीय काम भएका छन् । दलित एवं विपन्न वर्गको उत्थानका लागि पनि थुप्रै काम भएका छन् । 


पाँच वर्षमा नगरलाई दोगारी (गल्ली) मुक्त बनाउने नगरप्रमुखको घोषणा पनि पूरा भएको छ । अहिले नगरभरि पक्की सडक छन् । नगरपालिकाको नौ वटै वडाभित्र सडक ढलान भएको छ भने हरेक वडालाई जोड्ने सडक कालोपत्रे गरिएको छ । नगरभित्रको ढल र पानी निकासका लागि अधिकांश वडामा नाला निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकीको काम तीव्र गतिमा भइरहेको छ । 


नगरप्रमुखको सबैभन्दा महत्वाकांक्षी अभियान ‘दलित आवास निर्माण’ र ‘असहाय आवास निर्माण’ रहेको छ । अति विपन्न दलित तथा चरम गरिबीको सामना गरिरहेका नगरवासीलाई पक्की घर निर्माण गर्ने लक्ष्य राखेकी साहले मौलापुरमा चमार जातिका १७ परिवारका लागि एकीकृत दलित बस्ती निर्माण गरेकी छिन् भने मर्यादपुरमा ३० वटा घर निर्माण भइरहेको छ । त्यस्तै, सय जना असहायका लागि पक्की घर निर्माणको तयारी भइरहेको छ । 


शिक्षाका लागि जिल्ला सदरमुकाम गौर जानुपर्ने बाध्यताको अन्त्य गर्दै अहिले सबै वडामा विद्यालय छन् । अपर्याप्त जनशक्ति र पूर्वाधारको सामना गरिरहेका विद्यालयहरूको नयाँ नेतृत्व आएपछि तीव्र रूपमा स्तरोन्नति भएको छ । मौलापुरलाई शैक्षिक हब बनाउने उद्देश्य राखेकी नगरप्रमुखले ‘हर हात में हुनर’ अभियान सञ्चालन गरेकी छिन् । जसअन्तर्गत विभिन्न प्राविधिक तथा व्यावसायिक तालिम सम्पन्न भएका छन् । मौलापुर पोलिटेक्निक कलेज स्थापना भई सञ्चालनमा आइसकेको छ । त्यसका लागि नगरपालिकाले भवनसमेत निर्माण गरिसकेको छ । हाल कलेजमा सिभिल इन्जिनिरिङ, जियोमेट्रिक इन्जिनियरिङको डिप्लोमा तहको कक्षा सञ्चालन भइरहेको छ । नगरलाई पूर्ण साक्षर बनाउन नगरपालिकाले ‘इच वान, टिच वान’, ‘साक्षरताका सांस्कृतिक कार्यक्रम’ लगायत अभियान सञ्चालन गरिएका छन् । ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत नगरका छोरीचेलीको बिहेमा नगरपालिकाले २५ हजार रुपैयाँ सहयोग गर्ने गरेको छ । 


अहिले मौलापुरमा प्राथमिक उपचारदेखि प्रसूति सेवासम्मको स्वास्थ्य सेवा उपलब्ध छन् । देवाही गोनाही, फतुवा विजयपुरलगायत नगरपालिकाका नागरिकले समेत यहाँ आएर सेवा लिने गरेका छन् । 


एघारौँ शताब्दीमा निर्माण भएको पुरातात्विक महादेव मन्दिरको उत्खनन र संवद्र्धनमा पनि नगरपालिका सफल भएको छ । पुरातत्व विभागसँगको सहकार्यमा मन्दिर उत्खनन र मन्दिर क्षेत्र फराकिलो बनाउने काम सम्पन्न भएको छ । 


संस्कृति संरक्षणको क्षेत्रमा पनि मौलापुर नगरपालिकाले प्रयास गरेको छ । सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवद्र्धन गर्न रौतहट र बारामा मात्र मनाइने मधानी यज्ञलाई विश्वस्तरमा स्थापित गराउन मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गरेको थियो । जसमा नेपाली मात्र नभई भारतीय नागरिकले पनि सहभागिता जनाएका थिए । मौलापुरलाई पर्यटन केन्द्र बनाउने उद्देश्यले पिकनिकस्थलसमेत निर्माण गरिएका छन् । जहाँ दैनिक सयौँ स्थानीय व्यायाम गर्न र पिकनिक मनाउन जाने गर्छन् । 


नगरपालिकाका हरेक किसानले सिँचाइका लागि प्रयोग गर्ने कृषि विद्युत मिटरको महसुल नगरपालिकाले तिर्ने गरेको छ । मौलापुरले सबै किसानलाई बालीअनुसार उन्नत बीउबिजन निःशुल्क उपलब्ध गराउँदै आएको छ । कृषि उपज बिक्रीका लागि व्यवस्थित बजार र भण्डारणका लागि कोल्डस्टोर निर्माणको काम अन्तिम चरणमा रहेको छ । विपन्न किसानका लागि कृषि अनुदानको व्यवस्थासमेत गरिएको छ । नगरपालिकामा मालपोत करमा पूर्ण छुट छ । 


महामारी नियन्त्रणमा मौलापुर अग्रपंक्तिमा रहेको छ । देशमा लकडाउन सुरु भएदेखि नै उच्च सतर्कता अपनाएको नगरपालिकाले नगरवासीलाई दुई चरणमा राहत वितरण गरेको थियो । भारतबाट आएका नगरवासीलाई व्यवस्थित क्वारेन्टिन सञ्चालन गरी सम्भावित संक्रमण रोक्न सफल भयो । महामारीमा खटेका स्वास्थ्य कर्मचारीलाई तलबको ५० प्रतिशत भत्ता पनि दिइएको थियो ।


आफूमाथि नगरवासीले गरेको विश्वास र सहयोगकै कारण सबै काम सफल भएको नगरप्रमुख साहले बताइन् । ‘नगरवासीलाई कुनै किसिमको समस्या आउन नदिन र बढीभन्दा बढी सुविधा प्रदान गर्न लागिपरेकी छु,’ उनले भनिन् ।