close

भरतपुरमा एक वडा एक स्वास्थ्य केन्द्र

भरतपुरमा एक वडा एक स्वास्थ्य केन्द्र

Trulli
ADVERTISEMENT

चितवन– पछिल्लो समय भरतपुर महानगरभित्रका सबै वडामा स्वास्थ्य सेवा विस्तार गरिएकोे छ । ‘मेडिकलहब’का रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय २९  वडाका ३९ स्वास्थ्य केन्द्र सञ्चालित छन् । सङ्घीयस्तरको भरतपुर, बिपी कोइराला मेमामेरियल क्यान्सर र भरतपुर आँखा अस्पताल सहित दुई मेडिकल कलेज, दुई दर्जन हाराहारी निजी अस्पतालले सेवा प्रदान गरेका छन् ।  

 

महानगरले १३  स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ । यी स्वास्थ्य सस्थामा आठ चिकित्सकसहित २०० हाराहारी स्वास्थ्यकर्मी कार्यरत छन् । सामान्य अवस्थाको उपचार सेवा महानगरवासीले गाउँमा नै पाउने गरेका छन् ।


 
महानगरमा १९ स्वास्थ्य केन्द्र स्थानीयस्तरबाट जनशक्ति परिचालन गरी सञ्चालन गरिएको छ । भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था गरिँदै आइएको छ  । यसबाट वार्षिकरूपमा दुई लाख जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् । महानगरले यसका लागि वार्षिक रु ६० लाख खर्च गर्दै आएको छ ।


 
गर्भवतीलाई  अस्पताल लैजान आवश्यक पर्ने एम्बुलेन्सको शुल्क महानगरले भुक्तानी गर्दै आएको छ । महानगरले शिवनगर र शारदानगरमा कोभिड आइसोलेशन बनाएर चिकित्सकसहित सेवा दिँदै आएको छ । शिवनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी भिडियो एक्सरे र डिजिटल एक्सरेसहितको १५ शय्याको कोभिड अस्पताल बनाइएको छ साथै दिगोपनका लागि भवन निर्माण, मर्मत तथा विस्तार गरी आवश्यक पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।

 

यसैगरी शारदानगरमा १५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालको स्तरोन्नति र निरन्तरताका लागि आवश्यक कानुनी, आर्थिक र भौतिक संरचनाका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आवश्यक विश्लेषणसहित पत्राचार गरिएको छ । महानगरभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गर्दै पहिलोपटक चाडबाड खर्चसमेत प्रदान गर्न सुरुआत गरिएको छ । दीर्घकालीन सेवा गरेका ३७ स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गरेर बिदाइ गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण अभियान सुरु गरिएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन् । 


 
महानगरले कोभिडको समयमा उपचारका लागि उद्योग सङ्घको प्रदर्शनी केन्द्र र बागेश्वरीमा अस्थायी अस्पताल स्थापना गरी उपचार गरेको थियो । हाल सोही प्रयोगशालामा कोभिड परीक्षण भइरहेको छ ।

 

कोभिडकै समयमा ४८ क्वारेन्टिन स्थापना र वडा वडाबाट स्वाब सङ्कलनसमेत गरिएको थियो । महानगरले कोभिडबाट मृत्यु भएपछि शव व्यवस्थापनका लागि निःशुल्क शववाहन र अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउँदै आएको छ । महानगरमा दाताहरुबाट प्राप्त स्वास्थ्य सामग्री र महानगर स्वयंले खरिद गरी गुणस्तरीय सेवामा प्रोत्साहन पुगोस् भन्नका लागि मातहतका स्वास्थ्य संस्थामा पुर्‍याउँदै आएको छ ।


 
महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीका अनुसार महानगरपालिकालाई पूर्ण खोप महानगर घोषणा गरिएको छ । महानगर मातहतका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत चार विद्यालयमा प्रदेश सरकारका समन्वयमा कार्यक्रम सुरुआत भएको र थप विद्यालयका लागि पहल भइरहेको उनले जानकारी दिइन् । महानगरले सुत्केरीलाई निःशुल्क झुल वितरण गर्दै आएको छ भने क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमको सुरुआत गरेको छ ।


 
महानगरले आफ्नै जनस्वास्थ्य ऐन २०७७ निर्माण तथा प्रमाणीकरण गरी कार्यान्वयन गरेको छ । महानगरमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यविधि २०७६, दीर्घकालीन सेवामा रहेका महिला स्वयंसेविकाको सम्मानजनक बिदाइ कार्यविधि २०७७, स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि २०७७ निर्माण गरिएको छ । 


 
महानगरको पहलमा गैरआवासीय नेपाली महासङ्घसँग समन्वय गरेर रेडक्रस सोसाइटी चितवनलाई अत्याधुनिक रगत सङ्कलन बस हस्तान्तरण गरिएको छ । महानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका अनुसार गरिब, अतिविपन्न तथा पिछडिएका वर्गलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने उद्देश्यका साथ यस वर्ष बजेट विनियोजन गरिएको छ । महानगरपालिकाको वडा नं १५ मा ५० शय्याको आयुर्वेदिक अस्पताल स्थापनाका लागि प्रदेश सरकारसँग आवश्यक प्रक्रिया अघि बढाइएको सुवेदीले जानकारी दिए । महानगरमा सहरी क्षेत्रमा सुविधासम्पन्न अस्पताल थपिँदै गएको भए पनि महानगरले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याएको हो ।